दुर्घटनाग्रस्त तारा एयरको विमान दुर्घटनास्थलमा भेटिएका शव पोखरा ल्याइँदै

दुर्घटनाग्रस्त तारा एयरको विमान दुर्घटनास्थलमा भेटिएका शव पोखरा ल्याइँदै



हिजो बिहानदेखि पोखरा र जोमसोम दुबै टावरसङ्ग सम्पर्कविहिन रहेको तारा एअरको जहाजको भग्नावशेष थासाङ्गमा फेला परेको छ । सबै यात्रु र चालक दलको मृत्यु भएको पाइएको छ । सेना,प्रहरी,शेर्पा पर्वतारोही खोजी दल र स्थानीय अहिले घटनास्थल पुगेका छन् ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको थासाङ गाउँपालिकाको सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । सानुसरे कोबाङबाट नजिकैको दूरीमा पर्छ ।

स्थानीयवासीले खबर गरेपछि नेपाली सेनाका अधिकारीहरु घटनास्थलमा पुगेका हुन् । त्यस लगत्तै यात्रुहरुको शव पोखरा ल्याउने तयारी गरिएको छ । हिजोको तुलनामा आज मौसम सफा रहेका कारण आज नै सबैको शव पोखरा ल्याइसक्ने तयारी छ । विमानमा सवार सबैको मृत्यु भएपनि त्यहाँ भेटिएका शवहरु चिन्न सक्ने अवस्थामै रहेको स्थानीयवासीले जनाएका छन् ।

यार्सा टिप्न गएका स्थानीयवासीले सबैभन्दा पहिले आज विहान विमान दुर्घटनास्थल फेला परेका थिए । विमानमा दुई जर्मन नागरिक, चार भारतीय, १३ नेपाली र तीन जना चालकदलका सदस्यसहित २२ जना थिए । विमान अनकण्टार पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । ल्याण्ड हुनु केही मिनेट अघि मात्रै विमान सम्पर्कविहीन भएको थियो ।