एनआरएन अष्ट्रेलियाले ल्यायो अष्ट्रेलिया र नेपालका राजदूत एउटै मञ्चमा

एनआरएन अष्ट्रेलियाले ल्यायो अष्ट्रेलिया र नेपालका राजदूत एउटै मञ्चमा


सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनसँग अन्तरक्रिया सम्पन्न गरेको छ । डिजिटल माध्यमबाट क्यानबेरा र काठमाडौंलाई जोडेको एनआरएन अष्ट्रेलियाको अन्तरक्रिया कार्यक्रममा सहभागी राजदूत जोन्स्टनले आफ्नो गत ६ महिनाको नेपाल अनुभव सुनाएकी थिइन् । उनले हालै रारा रिसोर्टको उद्घाटन गरेको स्मरण गर्दै प्रत्यक्ष विदेशी लगानीलाई सहजीकरणका लागि हालै नेपाल सरकारले गरेको प्रयासका विषयमा धारणा राखेकी थिइन् ।

यस्तै उनले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि प्रयास भइरहेको र छिट्टै यसले सार्थकता पाउने अपेक्षा रहेको पनि बताइन् । दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजो मिलाउने प्रयास जारी रहेको र अष्ट्रेलियाको संघीय निर्वाचनपछि यसले मूर्तरुप लिनसक्ने उनको भनाई थियो ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले दुईदेशबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो प्रयास रहने बताउँदै ट्रेड ईन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट टीफाको कार्यान्वयनले हाल दुई देशबीच रहेको व्यापार घाटा कम गर्नसक्नेमा आशावादी रहेको धारणा राखेकी थिइन् ।
कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष अनिल पोखरेलले गरेका थिए भने सञ्चालन महासचिव सन्तोष कुँवरले गरेका थिए ।

सहभागी अधिकांशले नेपालका विद्यार्थीहरुले किन सहज रुपमा अष्ट्रेलियाको भिसा पाइरहेका छैनन् भन्ने जिज्ञासा राखेका थिए । यसको जवाफमा राजदूत जोन्स्टनले यस विषयमा आगामी ६ महिनापछि हुने यस्तै अन्तरक्रियाका क्रममा आफुले अध्यागमन अधिकारीलाई बोलाउने वा त्यस सम्बन्धी जानकारी लिएर उपस्थित हुने प्रतिबद्धता जनाएकी थिइन् ।

कार्यक्रममा एनआरएन आईसीसीका पदाधिकारी, न्यूसाउथवेल्स, भिक्टोरिया र साउथ अष्ट्रेलियाका अवैतनिक वाणिज्यदुतहरु, नेपाली समूदायका अगुवाहरु, पत्रकार लगायत ७५ जनाभन्दा बढीको सहभागिता थियो । दुई देशका राजदूतबीच समूदायसमेतको उपस्थितिमा भएको यो पहिलो अन्तरक्रिया हो । कार्यक्रमपछि एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले जारी गरेको विज्ञप्तिमा यस किसिमको अन्तरक्रियालाई आगामी दिनमा निरन्तरता दिन दुबै देशका राजदूतहरु सहमत भएको उल्लेख छ । यस किसिमको अन्तरक्रियाको निरन्तरताले समूदायमा उठेका विभिन्न प्रश्नहरुको सिधा जवाफ खोज्न सहयोग पुग्ने अपेक्षा छ ।