सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाको न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माले अर्थमन्त्री विष्णु पौडेललाई भेटी अष्ट्रेलिया र नेपालबीच हुने आगामी छलफलमा दोहोरो कर अन्त्यको मुद्दा अघि बढाउन आग्रह गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा पुगेका शर्माले दोहोरो कर अन्त्यले लगानीकर्तालाई हुने फाईदा, यसले अष्ट्रेलियाबाट नेपालमा आउनसक्ने सम्भावित लगानीका विषयमा अवगत गराएका थिए ।
जवाफमा मन्त्री पौडेलले यस विषयमा थप छलफल आवश्यक रहेको बताएका थिए । लगानीकर्तामैत्री वातवारण निर्माणको लागि आफ्नो सकारात्मक साथ रहने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाएका छन् ।
यसैबीच, वाणिज्यदूत शर्माले लगानी बोर्डका सिईओ सुशील ज्ञवालीलाई भेटेर पनि दोहोरो कर प्रणाली अन्त्य गर्ने विषयमा आफ्ना भनाई राखेका छन् । ज्ञवालीसँगको भेटलाई उद्धृत गर्दै शर्माले कुराकानी सकारात्मक भएको र ज्ञवालीले सहजीकरणका लागि प्रयास गर्ने आश्वासन दिएको बताएका छन् । उनले केविसीखबरसँग भने, ज्ञवाली सरले कुरा बुझ्नुभयो । यसमा थप सहयोग गर्छु भन्नुभएको छ । अष्ट्रेलिया र नेपाल सरकारबीच केहीवर्ष अघि भएको टिफा सम्झौता अन्तर्गत संयन्त्रको बैठक अष्ट्रेलियाको संघीय निर्वाचन लगत्तै बस्ने तयारी छ । यसमा दोहोरो कर अन्त्य गर्ने विषय पनि छलफलमा आउने अपेक्षा छ ।
राजश्व विभागका अनुसार हालसम्म नेपालले यस किसिमको सम्झौता ११ देशसँग गरेको छ । भारत, अष्ट्रिया, नर्वे, थाईल्याण्ड, बंगलादेश, चीन, पाकिस्तान, श्रीलंका दक्षिण कोरिया, मरिसस र कतारसँग दोहोरो कर प्रणाली अन्त्य सम्बन्धी सम्झौता भएको छ । यस किसिमको सम्झौता भएका देशका नागरिकले नेपालमा लगानी गर्दा र त्यस वापतको प्रतिफल लैजाँदा एउटा देशमा मात्र मुनाफा कर तिरे पुग्छ ।
वाणिज्यदूत शर्माले मंगलबार अष्ट्रेलियाका लागि नेपाली राजदूत लीन जोन्स्टनसँग पनि भेट गरेर दुई देशबीचको सम्बन्धका आयाम, टीफा सम्झौताको कार्यान्वयन, नेपालमा अष्ट्रेलियन लगानी, विद्यार्थीहरुका समस्या लगायतका विषयमा कुराकानी गरेका थिए ।
प्रतिक्रिया