डार्विनमा जुन ४ तारिख नेपाल फेष्टिभल, रविन एण्ड दि न्यू रेभ्यूलुसनको कन्सर्ट पनि

डार्विनमा जुन ४ तारिख नेपाल फेष्टिभल, रविन एण्ड दि न्यू रेभ्यूलुसनको कन्सर्ट पनि


डार्विन, अष्ट्रेलिया ।

नर्दन टेरेटोरीको डार्विनमा आगामी जुन ४ तारिख नेपाल फेष्टिभल २०२२ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा राज्य सरकारले समेत सहभागिता जनाएको छ ।

अघिल्लो पटकको नेपाल फेष्टिभलबाट नै आर्थिक सहायता गरेको राज्य सरकारले यो क्रमलाई निरन्तर राखेको छ । डार्विनको मुटु मानिने वाटरफ्रन्टमा हुन लागेको नेपाल फेष्टिभल मुख्यत नेपाली भाषा, कला, संस्कृति र भेषभूषा र नेपाली खाना झल्काउने उद्देश्यले हुन लागेको गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका संयोजक विष्णु चापागाईंले केविसीखबरलाई जानकारी दिए ।

केविसीखबरसँग चपागाईंले भने, “यो हामी नेपाली नेपाली भेला भएर मनाउने नेपाल फेष्टिभल होइन । नेपाली र यहाँ रहेका अन्य समूदायका अष्ट्रेलियनहरु मिलेर, यहाँको सरकारी तहका उच्चपदस्थ अधिकारीहरुसहित मिलेर हामीले मनाउन लागेका छौं । नेपाल फेष्टिभलले नर्दन टेरेटोरीमा नेपालीहरुको उपस्थितिलाई त जगाउने छ नै यहाँको बहुसांस्कृतिक समाजलाई नेपालको बारेमा जानकारी पनि दिनेछ र नेपाल भ्रमणको निम्ति उत्प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

यस पटकको नेपाल फेष्टिभलमा अष्ट्रेलियाका नेपालीभाषी कलाकारहरुका साथै नेपालबाट रविन एण्ड दि न्यू रेभ्युलुसन व्याण्डले समेत सहभागिता जनाउँदैछ । यसका साथै धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपाली चिया चाख्ने स्पर्धा, बालबालिकाहरुको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न परिकार पाइने स्टलहरु मुख्य आकर्षण रहनेछन् ।

नेपाल फेष्टिभललाई नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लबको समेत सहकार्य रहनेछ ।

नेपाल फेष्टिभल दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने पनि संयोजक चापागाईंले जानकारी दिए ।