मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नमा आयोजना हुँदै आएको कँडेल कप प्रतियोगिताको यस वर्षको संस्करणको तयारी पूरा भएको आयोजक यति फुटबल क्लबले जनाएको छ । क्लबका अध्यक्ष कर्ण रानाले एक विज्ञप्ति जारी गर्दै आगामी मार्च ८ र ९ तारिखमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएका हुन् । स्थानीय डार्विन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा आयोजना हुने प्रतियोगितामा ४० टिमको सहभागिता रहनेछ । खुलातर्फ २४ टोली र भेट्रानतर्फ १६ टोलीको सहभागिता रहनेछ । फुटबल टिमहरु अष्ट्रेलियाका विभिन्न राज्यबाट प्रतिस्पर्धामा भाग लिन आउनेछन् ।
प्रतियोगिताको विजेता टिमले १२ हजार डलर राशीको पुरस्कार, ट्रफी र प्रमाणपत्रका साथै मेडल प्राप्त गर्नेछ भने उपविजेता टोली ४ हजार ५ सय डलर नगद पाउनेछन् । यस्तै ३५ वर्ष माथिको उमेर समूहको टोली विजेताले २५ सय डलर र उपविजेताले १ हजार डलर पुरस्कार राशी प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकर्ता, फेयर प्ले टोली सर्वोत्कृष्ट खेलाडीले जनही २ सय डलर प्राप्त गर्नेछन् ।
नेपाल र नेपाली फुटबललाई प्रबद्र्धन गर्दै खेलकुदको माध्यमबाट समूदायलाई एकढिक्का बनाउने उद्देश्यले गरिएको प्रतियोगिताको मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सी रहेको छ भने यस पटकबाट सफायर रियलस्टेट पनि जोडिएको छ ।
प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोष्ट, ब्रिसबेन, तास्मानिया र एडिलेडका क्लबहरु सहभागी हुने निश्चित भएको छ । प्रतियोगिताको संयोजक यति फुटबल क्लबका उपाध्यक्ष सज्जन शर्मा तोकिएका छन् ।
प्रतिक्रिया