नेपाली टोली शेपार्टन नेशन कपको फाईनलमा, शनिबार भिडन्त

नेपाली टोली शेपार्टन नेशन कपको फाईनलमा, शनिबार भिडन्त


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाको शेपार्टनमा आयोजना गरिएको नेशन कप फुटबल प्रतियोगिताको फाईनलमा नेपाल र अफगानिस्तान भिड्ने भएका छन् । १० टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाईनलमा नेपालले कंगोलाई तीनका विरुद्ध ५ गोलले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।

लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको लिगतर्फ नेपालले आफ्नो समूहमा ९ अंक बटुल्दै समूह विजेता बनेको थियो । सोही समूहमा रहेको अफगानिस्तानले समूह बीमा रहेको ईराकलाई पराजित गरेको थियो । ईराक समूह बीको विजेता थियो ।
शेपार्टन नेशन कपमा नेपालसहित अफगानिस्तान, ईराक, ईटाली, कंगो, भारत, अल्बानिया, पाकिस्तान, टर्की र अष्ट्रेलियाका खेलाडी सम्मिलित टिम खेलिरहेका छन् ।

मेलबर्नबाट १ सय ८० किलोमिटर उत्तरमा अवस्थित शेपार्टन मुख्यत कृषिका लागि चर्चित ठाउँ हो । यहाँ बसोबास गर्ने विभिन्न समूदायका बीचमा प्रतियोगिता आयोजना गरिएको हो । शेपार्टनमा नै बसोबास गरिरहेका र नेपाली टिमका संयोजक सुन्दर कार्कीले अहिले शेपार्टन नेपालमय भएको बताए । उनले पसलमा, चोकहरुमा र बस्तीहरुमा नेपाली खेलाडीको खेलस्तरको चर्चा र प्रशंसा भएको जानकारी दिए ।

यसअघिको प्रतियोगितामा कप उचालेको अष्ट्रेलियाले यस पटक सेमिफाईनल सम्म पुग्न पाएन । नेपाल अष्ट्रेलियासँग एक गोल अन्तरले पराजित भएको थियो । यस बाहेकका सबै चार खेलमा नेपालले जितेको थियो ।

मेलबर्नबाट करिब दुई घण्टाको ड्राईभमा पुग्न सकिने शेपार्टनमा अवस्थित स्पोर्टस स्टेडियममा शनिबार २५ जनवरी साँझ साढे सात बजे फाईनल खेल हुनेछ ।