ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग क्रिकेट सकियो, उपाधि सगरमाथा ब्लूजलाई

ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग क्रिकेट सकियो, उपाधि सगरमाथा ब्लूजलाई


मेलबर्न, अष्ट्रेलिया ।

ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग क्रिकेट प्रतियोगिता मेलबर्नमा सम्पन्न भएको छ । प्रतियोगिताको चौथो संस्करणमा भिक्टोरियाका १६ वटा टिमको सहभागिता रहेको थियो । हरेक शनिबार र आईतबार लिग चरण हुँदै फाईनलसम्मका खेलहरु भएका थिए । प्रतियोगिताको फाईनलमा एक्सपर्ट सगरमाथा ब्लूज र फार वेष्टर्न हन्टर्स आमने सामने भएका थिए ।

वर्षको अन्तिम आईतबार भएको खेलमा फार वेष्टर्न हन्टर्सलाई पराजित गर्दै सगरमाथा ब्लूजले उपाधि हात पारेको थियो । प्रतियोगिताको उपाधिसँगै उसले ४ हजार अष्ट्रेलियन डलर नगद पनि जितेको छ । खेलपछि आयोजना गरिएको पुरस्कार वितरणमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नका निर्देशक सरोज शर्माले खेलाडीहरुलाई ट्रफी, मेडल हस्तान्तरण गरे । उनले खेल भावनाले प्रतियोगितामा हातेमालो गर्ने सबैलाई धन्यवाद पनि दिए । यसैगरी उपविजेता फार वेष्टर्न हन्टर्स क्रिकेट क्लबलाई भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनका प्रेसिडेन्ट सुदीप न्यौपानेले पुरस्कार, मेडल र ट्रफी हस्तान्तरण गरेका थिए ।

समारोहमा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु उपस्थित थिए ।
फाईनल खेलमा सगरमाथा ब्लूजले प्रतिस्पर्धीलाई २ सय १७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ७ विकेटको क्षतिमा उक्त लक्ष्य निर्माण गर्ने क्रममा रसिम कँडेलले सर्वाधिक ५७ रन बनाएका थिए । प्रतियोगितामा फार वेष्टर्न हन्टर्सले १ सय ६५ रन मात्र बनाउन सक्यो ।

फाईनलको म्यान अफ दि म्याच रशिम कँडेल बन्न सफल भए ।
पुरस्कार वितरण समारोहमा फार वेष्टर्न हन्टर्सका केशव पन्त प्लेयर अफ दि टुर्नामेन्ट बने, उनले कूल २ सय ७ रन बनाएका थिए भने १४ विकेट लिएका थिए । यस्तै बेष्ट व्याटर सुनील भट्ट, बेष्ट बलर विक्रम तिवारी, वेष्ट विकेट किपर आशिष जिसी, बेष्ट फिल्डर भुषण तिवारी बन्न सफल भए यस्तै ईमर्जिंग प्लेयर अफ दि टुर्नामेन्ट अनमोल बस्नेत घोषित भए । यस्तै फेयर प्ले एवार्ड गोर्खा लायन्स क्रिकेट क्लबले जितेको प्रतियोगिता संयोजक मिलन श्रेष्ठले केविसीखबरलाई जानकारी दिए ।