मेलबर्नमा सकियो नेपाली बैंकरहरुको पाँच दिने तालिम, समापन भिक्टोरियन मन्त्रीबाट

मेलबर्नमा सकियो नेपाली बैंकरहरुको पाँच दिने तालिम, समापन भिक्टोरियन मन्त्रीबाट


मेलबर्न, अष्ट्रेलिया ।

बैंकिंग फाईनान्स एण्ड ईन्सयोरेन्स ईन्ष्टिच्युट अफ नेपालको आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको उच्चस्तरीय टोलीका लागि गरिएको पाँच दिने तालिम सम्पन्न भएको छ । बिफिनले भिक्टोरिया युनिभर्सिटीको सहकार्यमा सञ्चालन गरेको यो तेश्रो तालिमको तेश्रो व्याच हो ।

समापन कार्यक्रम शुक्रबार कोबर्गको एक कार्यक्रमस्थलमा गरिएको थियो । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा भिक्टोरिया राज्यकी क्राईम प्रिभेन्सन, करेक्सन्स, युथ जष्टिस र भिक्टिम सपोर्ट मन्त्री लताली हचिन्स थिइन् । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि हचिन्सले महामारीपछिको अहिलेको अवस्थामा पनि भिक्टोरियालाई नै आफ्नो तालिमस्थलको रुपमा छनोट गरेकोमा आयोजकको प्रशंसा गर्दै तालिमबाट सिकेका कुराहरुलाई नेपाली बैंकरहरुले पक्कै पनि आफ्नो दैनिक कार्यमा लागू गर्नेछन् भन्ने आशा व्यक्त गरिन् । उनले तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले भिक्टोरियामा नै पढेर नेपाल गई ईन्ष्टिच्युट सञ्चालन गरिरहेका डा। विनोद आत्रेयको प्रयासको प्रशंसा गर्दै भिक्टोरियाको नेपाली समूदाय सदैव सहकार्य गर्न तत्पर रहेको जानकारी दिएका थिए । नेपालमा लगानी होस् या कुनै सहयोग सेवाको कार्य सबैमा भिक्टोरियाको नेपाली समूदायको दरिलो उपस्थिति रहने प्रतिबद्धता महावाणिज्यदुत योन्जनको थियो ।

उक्त अवसरमा तालिमका प्रशिक्षक र प्रोफेसरहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै तालिमका सहभागी एवं हिमालयन बैंकका अधयक्ष प्रचण्डबहादुर श्रेष्ठले नेपाली समूदायसँगको अन्तरक्रिया अत्यन्तै उत्साहजनक भएको भन्दै अहिले देशमा विदेशी मुद्राको आवश्यकता रहेको हुनाले विदेशबाट बस्ने हरेक नेपालीले कम्तिमा पनि एउटा डलर खाता खोल्ने र एक हजार डलर जम्मा गरेमा यसले ठूलो साथ र टेवा दिने बताएका थिए । अध्यक्ष श्रेष्ठले त्यो रकम आफ्नै खातामा रहने भएपनि यसले देशको अहिलेको अवस्थामा सुधार ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास आफुले लिएको भन्दै जुनसुकै बैंकमा पनि विदेशमा बस्ने नेपालीले डलर खाता खोल्न सक्ने बताएका थिए । तालिममा पूर्व सञ्चारमन्त्री एवं एनसीसी बैंकका बोर्ड सदस्य नेपाली काँग्रेसका सांसद मोहन बस्नेत पनि सहभागी छन् ।

कार्यक्रममा एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काले आगामी सेप्टेम्बर १० तारिखमा हुन लागेको नेपाल फेष्टिभलमा सहभागी हुन सबैलाई निम्तो दिएका थिए । विफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा उपस्थित समूदायका प्रतिनिधिहरुले यस किसिमको उच्चस्तरीय भ्रमणमा आउँदा र यहाँका समूदायसँग अन्तरक्रियापछि निस्किएका निचोडहरुलाई कार्यान्वयनमा ल्याउन नसके यसले धेरैको समय बर्बाद पार्ने भन्दै कार्यान्वयनमा लैजान आग्रह गरिएको थियो ।

नेपाली बैंकहरहरुको भ्रमण टोलीमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, कुमारी बैंकका निर्देशक महेश पोखरेल, एनसीसी बैंककी निर्देशक सुमन जोशी, बैंकअफ काठमाण्डूका निर्देशक विजय कुमार श्रेष्ठ, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रबन्ध निर्देशक डोलिन्द्रप्रसाद शर्मा लगायत विभिन्न बैंकका १७ जना बोर्ड सदस्यहरु सहभागी छन् ।

यसअघि एनआरएन अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले बैंकरहरुसँग अन्तरक्रिया र स्वागत कार्यक्रम गरिसकेको छ ।

समापन कार्यक्रमका केही झलकहरु –