होबार्टमा तासी वारियर्सको नयाँ जर्सी सार्वजनिक

होबार्टमा तासी वारियर्सको नयाँ जर्सी सार्वजनिक



तास्मानिया, अस्ट्रेलिया ।

तासी वारियर्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। ब्राइटन कलेजमा क्लबले टोलीको एकता, जोश, र सामुदायिक भावना झल्काउने आकर्षक जर्सी सार्वजनिक गरेको हो।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा एनआरएन तास्मानिया संयोजक जगदीश खडका, अजि फाइनान्स एन्ड होम लोन तास्मानियाका निर्देशक रेवन्त बस्नेत, नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकार, नेप्लिज बिजनेस एसोसियसन अफ तास्मानियाका अध्यक्ष उमेश सुनचौरी, नेपालिज स्पोर्ट्स एसोसिएसन अफ तास्मानियाका अध्यक्ष विष्णु सापकोटा, भुटानी समुदायका सल्लाहकार खड्ग थापा, एन्जाका कोषाध्यक्ष खगेन्द्र सत्याल र खेलाडीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ताहरूले सामुदायिक सहयोग र खेलकुदको महत्त्वमा जोड दिँदै तासी वारियर्सको प्रशंसा गरेका थिए।

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तास्मानियाका निर्देशक रशिक श्रेष्ठले एक्सपर्टले संगीत र खेलकुदलाई समर्थन गर्दै आएको स्मरण गराउँदै यस पटकको लक्ष्य दीर्घकालसम्मका लागि होबार्टमा एक स्थायी क्लब स्थापना गर्नु रहेको बताए। उनले यसमा सहयोग गर्ने प्रायोजक, साझेदारहरू, र विशेष गरी भुटानी समुदायलाई धन्यवाद दिए। उनले भुटानी समुदायले नेपाली समुदायसँग क्लबलाई एकीकृत गरी तास्मानियाका नेपाली भाषी समुदायलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

उक्त क्लबको प्रयोजकमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, अस्ट्रेलियन फाइनान्स एन्ड होम लोन, ब्राइटन सर्ट कोर्सेस, डाँफे नेप्लिज रेष्टुरेन्ट, र तास्मानिया नेपाल रहेका छन्।

तासी वारियर्सले आफ्नो यात्रालाई अझ सशक्त बनाउँदै समुदायलाई थप नजिक ल्याउने लक्ष्य राखेको छ। टोलीले तास्मानियाका नेपाली भाषी समुदायलाई एकजुट राख्न खेलकुदलाई आधार बनाउने योजना अगाडि सारेको छ।