सर्वोत्कृष्ट खेलाडी बन्दै दिपेन्द्रले जब पुरस्कारमा जितेको कार मैदानमा दौडाए

सर्वोत्कृष्ट खेलाडी बन्दै दिपेन्द्रले जब पुरस्कारमा जितेको कार मैदानमा दौडाए



काठमाडौँ । नेपाली खेलकुदकै महत्वकांक्षी प्रतियोगिता नेपाल प्रिमियर लिग सकिएको छ । जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो ।

जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको छ । यो पुरस्कार नेपाली खेलकुदकै सर्वाधिक ठूलो धन राशीको पुरस्कार हो । यस्तै उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझायो ।

प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो ।

यसैगरी व्यक्तिगत पुरस्कारमा कार पाउने भाग्यमानी खेलाडी उपविजेता सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी बने । दीपेन्द्रले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको ईभी कार पुरस्कार पाए ।

उनले करिब ६२ लाख रुपियाँ बराबरको कार पाएपछि त्रिवि मैदानमै कार कुदाएर सर्मथकबिच खुसी साटेका थिए । दीपेन्द्रले प्रतियोगिताभर कूल दुई सय २७ रन बनाए । टोलीलाई फाइनल यात्रासम्म लग्न महत्त्वपूर्ण भूमिका निभाएका ऐरीले बलिङमा नौ विकेट लिएका थिए ।

यस्तै उत्कृष्ट बलर बन्दै विजेता टोलीका ललित राजवंशीले मोटर साइकल पुरस्कार हात पार्न सफल भए । ललितले प्रतियोगिताभर १७ विकेट लिएका थिए । एनपिएलको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका सईफ जैवले पाए । उनले पाँच लाख रुपियाँ हात पारे ।

विजेता टोली र खेलाडीलाई पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायतले पुरस्कार प्रदान गरेका थिए ।

मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा फाइनलसम्म ३२ खेल भए । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आयोजना गरेको एनपिएलका विभिन्न शहर र प्रदेशको प्रतिनिधित्व गर्ने आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । जसमा काठमाडौँ गुर्खाज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिए ।