काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको छ ।
कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको शिष्टाचार एवम् बिदाइ भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको हो ।
मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे समेत जानकारी गराउनुभएको थियोे ।
यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी “बौद्ध सर्किट’’ को विकास गर्न सकिने । पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबिच साझेदारी गर्न सकिने विषयामा छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जर्नाको छ ।
यस्तै, दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावनालगायतका विषय छलफल भएको थियो । यस्तै, पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबिच चर्चा भएको छ । संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिनुभएको छ ।
प्रतिक्रिया