श्रीमती हत्यामा रञ्जन कोइराला अझै साढे ११ वर्ष जेल बस्नुपर्ने !

श्रीमती हत्यामा रञ्जन कोइराला अझै साढे ११ वर्ष जेल बस्नुपर्ने !


काठमाडौं ।

नेपालको सर्वोच्च अदालतले आफ्नै श्रीमतीको हत्याको आरोपमा जेल सजाय भोगेर पुनः कैद मिनारा पाएर रिहा भएका रन्जन कोइरालालाई थप साढे ११ वर्ष जेल बस्नुपर्ने सजाय सुनाएको छ ।

कायमुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण ईजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त ईजलासले गरेको फैसला उल्टाएको हो ।

रिटको सुनुवाइका लागि पहिलो पटक १० चैत २०७८ मा न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।

तर, उक्त दिन रिटलाई सर्वोच्चले ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो । त्यसपछि आज सुनुवाइका लागि रिटको पेसी तोकिएको हो ।

१५ असार २०७७ मा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाउने फैसला गरेको थियो । जसअनुसार साढे आठ वर्ष कैद बसेर कोइराला कारागारमुक्त भएका थिए ।

उक्त फैसला पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै आलोचना भएको थियो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालय फैसला पुनरवलोकनको माग गर्दै सर्वोच्च पुगेको हो ।
नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।

शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए ।