१४ नेतालाई कारवाही गरेपछि नयाँ पार्टी बनाउने माधव नेपालको उद्घोष

१४ नेतालाई कारवाही गरेपछि नयाँ पार्टी बनाउने माधव नेपालको उद्घोष



काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । मंगलबार आफू पक्षीय जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन् । उनले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

एमालेले १४ जनालाई कारवाही गरेको र त्यसको जानकारी संसद सचिवालयमा पुगेको थाहा पाइसकेपछिको सम्बोधनमा उनले भने, अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन जगाइने छ। लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ।

नेता नेपालले एकताका लागि प्रयास हुँदाहुँदै ओलीले आफूसहित १४ जना सांसदलाई कारबाही गरेर त्यसको ढोका बन्द गरेको आरोप लगाए । दिउँसो घनश्याम भुसालले एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आफूसँग दुई बुँदे सहमति लिएर ओलीसँग वार्ता गर्न गएको अवस्थामा कारबाही गरिएकाको अब नयाँ पार्टी बनाउनुको विकल्प नरहेको माधव नेपालको दावी छ ।

नेपालले जनवर्गीय संगठनका कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘कमरेड घनश्याम भुसालले एकताका लागि अन्तिम प्रयास गरौँ भनेर आउनुभएको थियो। मैंले उहाँलाई ओलीले यसअघि गरेका सबै निर्णय फिर्ता लिने र पहिला दिएका वचन पुरा गर्ने भए एकताको प्रयास गर्नुहोस् भनेँ । त्यसलाई स्वीकार गर्छु भने । ओलीले आफूलाई पार्टीमा ल्याउँदिन, गद्दार, देशद्रोहीको आरोप लगाएको प्रति पनि गुनासो गरे ।नेता नेपालले सांसद पदबाट निस्कासन गर्ने निर्णयबाट आफूहरु विचलित नहुने ठोकुवा गरे।

नेपालको भनाई थियो, ‘अब हामी कारबाहीबाट विचलित हुनेछैनौँ। पार्टी खोले पनि पार्टी ओलीले गल्ती स्वीकार गरे एकता गर्न सकिन्छ। एकताका लागि सधैँ ढोका खुल्ला हुनेछ। चुनावमा तालमेल पनि गर्न सकिन्छ । एक महिना दुई महिना तीन महिना ६ महिनामा एकतामा जान सकिन्छ। त्यसका लागि ओली सुध्रनु पर्छ।’

नेपाललाई पार्टी विभाजन गर्न सहज हुने गरी सरकारले दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य भएमा दल विभाजन गर्न सक्ने खुकुले प्रावधान राखेर सरकारले अध्यादेश सिफारिस गरेको हो।