सिड्नी, अष्ट्रेलिया । एनआरएन अष्ट्रेलियाले आयोजना गर्ने नेपाल फेष्टिभल विविध कारणले चर्चाको केन्द्रविन्दुमा छ । न्यूसाउथवेल्सका प्रिमियरको उपस्थितिदेखि हजारौं नेपाली भेला भएको रेकर्ड यसले राखिसकेको छ । यसैक्रममा नेपाल फेष्टिभलमा सार्वजनिक गरिएको “मुटुमा प्यारो नेपाल छ” बोलको भावनात्मक गीतको म्युजिक भिडियो यतिबेला चर्चामा छ । देश बाहिर रहेका नेपालीहरूको भावना झल्काउने यस गीतका संगीतकार हरि लम्साल हुन् भने प्रमोद खरेल, मेलिना राई, रवि ओड, र समीक्षा अधिकारीको आवाज यसमा सुन्न सकिन्छ । गीतको लेखन लक्ष्मण सञ्जेलको रहेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको निर्माणमा एनआरएन अष्ट्रेलियाले पनि सहयोग गरेको छ ।
यो विशेष गीत सिड्नीको नेपाल फेस्टिवलको स्टेजबाट एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, विपक्षी दलका नेता मार्क स्पिकम्यान सहित उपस्थित अतिथिहरुले सार्वजनिक गरेका थिए ।
गीतले प्रवासमा रहेका नेपालीहरूको देशप्रतिको आत्मीय भावनालाई उजागर गर्छ। जहाँ भए पनि, नेपालीहरूको हृदय सधैं नेपालसँग जोडिएको छ भन्ने सन्देश यो गीतले दिएको छ ।
यस गीतले प्रवासमा रहेका नेपालीहरूको मन छुने र नेपालप्रतिको गहिरो आत्मीयतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया