सिड्नी, अष्ट्रेलिया । नेपाल फेष्टिभल सिड्नी २०२४ मा चर्चित लोकगायक पशुपति शर्माले पनि आफ्ना हिट गीतमा दर्शकलाई झुमाउने भएका छन् । मनोरञ्जनात्मक प्रस्तुति दिने कलाकारहरुको सूचिमा उनलाई पनि समावेश गरिएको जानकारी आयोजक एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले दिए ।
पप विधाबाट दि एक्स व्याण्ड र आस्था राउत, आधुनिक विधाबाट हेमन्त शर्मा र लोकगीत क्षेत्रबाट पशुपति शर्मालाई नेपाली राष्ट्रिय कलाकारका रुपमा सिड्नीमा स्वागत गर्न लागिएको हो । नेपाल फेष्टिभलमा धेरैभन्दा धेरै अभिभावकहरु पनि सहभागी हुने भएका कारण माग अनुसार नै उनलाई प्रस्तुतिका लागि अनुरोध गरिएको थियो ।
केविसीखबरसँग कुरा गर्दै गायक पशुपति शर्माले अष्ट्रेलिया आफ्नो लागि घरजस्तै भएको भन्दै सिड्नीमा हुने नेपाल फेष्टिभलमा भेट्ने बाचा गरे । उनले भने, “मेरा नाच्ने गीतमा तपाईंहरुसँगै झुम्न चाहन्छु । यो मायाका लागि धेरै आभार छ ।”
एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभलमार्फत नेपालीहरुले अष्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । साथै, नेपाली खाना, संगीत, परम्परा, संस्कृतिको प्रदर्शन समेत गरिन्छ ।
नेपाल फेष्टिभलमा यस पटक ३० हजार दर्शकहरु सहभागी हुने अपेक्षा छ । विहान १२ बजेदेखि बेलुका १० बजेसम्म हुने नेपाल फेष्टिभल अघि विहान ११ बजे परेड आयोजना गरिनेछ । परेडमा नेपाली राष्ट्रिय पोशाकमा सजिएर नेपाली गीत संगीतको तालमा सिड्नीको महत्वपूर्ण क्षेत्र हुँदै कार्यक्रमस्थल पुग्ने तयारी छ । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने भएपनि यस कार्यक्रम मार्फत न्यूसाउथवेल्सको अर्थतन्त्रमा डेढ मिलियन डलरभन्दा बढीको योगदान नेपाली समूदायले गर्दैछ ।
प्रतिक्रिया