काठमाडौँ । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।
बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।
नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो । नेपालले ३।९३५३ रन रेट राख्यो । युएईले ३।७४०३ रन रेट बनायो ।
फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४।४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
जितसँगै ६ खेलबाट १० अङ्क बनाएको नेपाल शीर्षस्थानमा रह्यो । समान १० अङ्क बनाएको युर्एइ रन रेटमा पछि परेको हो । नेपाललाई विश्वकपमा स्थान बनाउन युएईलाई १६।२ ओभरमै हराउनु पर्ने बाध्यता थियो । जसमा नेपाल अगाडि नै सफल भयो । अन्तिम खेलमा आएर घरेलु टोलीले नेपालको दबाब थेग्न सकेन ।
युएई यसअघिका पाँच खेलमा विजयी भएको थियो । युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो ।
यस्तै यसअघि नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो । नेपालले युएईसँग अघिल्लो खेलमा हारेको बदलासमेत लियो ।
प्रतिक्रिया