अष्ट्रेलियन तेक्वान्दो नेशनल च्याम्पियशीपमा भिक्टोरियाको प्रतिनिधित्व गर्दै पार्वती गुरुङलाई गोल्ड मेडल

अष्ट्रेलियन तेक्वान्दो नेशनल च्याम्पियशीपमा भिक्टोरियाको प्रतिनिधित्व गर्दै पार्वती गुरुङलाई गोल्ड मेडल



मेलबर्न, अष्ट्रेलिया ।

तेक्वान्दोमा नेपालकी राष्ट्रिय खेलाडी एवं साउथ एशियन च्याम्पियन पार्वती गुरुङले ब्रिसबेनमा आयोजना गरिएको अष्ट्रेलियन तेक्वान्दो नेशनल च्याम्पियनशीप्समा पुम्सेतर्फ गोल्ड मेडल जितेकी छिन् । हाल अध्ययनको सिलसिलामा मेलबर्नमा रहेकी उनले भिक्टोरियाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा भाग लिएकी थिईन् । १८ वर्षदेखि ३० वर्ष उमेर समूहको प्रतिस्पर्धामा उनीसँगै ९ जना फिल्डमा उत्रिएका थिए । सबैलाई पछि पार्दै उनले गोल्ड मेडल जितेकी हुन् ।

अष्ट्रेलियाका विभिन्न राज्यबाट सहभागी भएका खेलाडीहरुबीच आजदेखि ब्रिसबेनको मोर्टन बे मा प्रतियोगिता आयोजना गरिएको छ । प्रतिस्पर्धामा गोल्ड जितेपछि केविसीखबरसँग कुरा गर्दै पार्वती गुरुङले नेपालमा गरेको प्रशिक्षणकै कारण आफुले जित हासिल गरेको प्रतिक्रिया दिइन् । उनले भनिन् – “यहाँ त काम, पढाई आदिका कारणले खासै तालिमका लागि समय दिन सकिएको थिएन । तर, मैले मेलबर्नको एभरेष्ट तेक्वान्दो क्लबमा प्रशिक्षकका रुपमा काम गरेका कारण पनि खेललाई निरन्तरता दिन र प्रतिस्पर्धामा सहभागी हुन सम्भव भयो ।”

२९ वर्षीय गुरुङ ले दक्षिण एशियाली तेक्वान्दोतर्फ गोल्ड मेडल र ब्रन्ज मेडल जितेकी थिइन् । उनी सन् २०२२ नोभेम्बरदेखि विद्यार्थी भिसामा अष्ट्रेलियामा छिन् । उनले भनिन्, “नेपालमा त नम्बर वन खेलाडी नै थिएँ । वल्र्ड च्याम्पियनशीप खेल्न पनि आफ्नै पैसा हालेर जानुपर्ने भएपछि आफ्नो भविष्य पनि हेर्नुपर्यो भनेर पढदै खेल्न पाउने स्कोप देखेर यता आएकी हुँ ।”