मेलबर्न अष्ट्रेलिया।
कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ ।
घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शन हुन लागेको हो । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्र अष्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रबारदेखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।
अष्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिक माग गरेका छन् । सिड्नीका विभिन्न शोहरू पूर्ण रूपमा बुक भएका छन् । प्रमुख सिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइट सिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्ट सिनेमा लगायतका हलहरूले थप शोहरू राख्न थालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायत न्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएका छन् ।
मध्यपूर्वमा पनि चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । टिकटहरू खुला भएको केही घण्टाभित्रै बुक भएका छन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ । चलचित्र पूर्ण बहादुरको सारंगीु शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स, कतार, र बहराइनका प्रमुख सहरहरुमा प्रदर्शन हुने भएको छ ।
अमेरिकामा चलचित्रको नोभेम्बर ८ को रिलिजलाई लिएर उच्च उत्साह छ । मंगलबारदेखि टिकट बुकिङ खुला गरिएको छ र धेरै स्थानहरूमा शोहरू फुल भइरहेको हुँदा केही हलहरूले दुई सातासम्म अग्रिम बुकिङका लागि शोहरू थपेका छन् । टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाकोस ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्डस बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागोस क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगनस डेनभर, फिनिक्स लगायतका प्रमुख सहरमा शोहरू हुनेछन् ।
यूकेमा पनि यो चलचित्र नोभेम्बर ८ देखि विभिन्न शहरका सिनेवर्ल्ड हलहरूमा प्रदर्शन हुनेछ। यी देशका धेरै सहरमा उच्च शोसहित चलसचित्र चल्ने निर्माणपक्षले जनाएको छ । यी देशका दर्जनौं हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।
मंगलबार जापानदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुल शोबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफल भएको थियो । यस हिसाबले चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा प्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहोर्याइरहेको छ । नेपाली डायस्पोराले विश्वव्यापी रूपमा दिएको समर्थनले चलचित्रलाई झनै सशक्त बनाएको छ ।
सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।
यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।
प्रतिक्रिया