अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी, नेपालका राष्ट्रपति सहित विश्व नेताहरुले दिए बधाई

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी, नेपालका राष्ट्रपति सहित विश्व नेताहरुले दिए बधाई



अमेरिकाको ४७ औं राष्ट्रतिको रुपमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन् । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेका छन् । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।

उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।

ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । ट्रम्प २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भए । बिदा हुने क्रममा निर्वाचन परिणाम अस्वीकार गर्दै भएको हिंसाको घटनामा दोषी समेत पाइएका ट्रम्प पुनः राष्ट्रपति भवन फर्किने भएका छन् । जनवरीमा उनको सपथ हुनेछ ।

बहुप्रतिक्षित सातवटा स्वींग स्टेट अरिजोना ९११०, जर्जिया ९१६०, मिचिगन ९१५०, नेभाडा ९६०, पेन्सिलभेनिया ९१९०, विस्कन्सिन ९१०० र नर्थ क्यारोलिना ९१६० को अधिकांश मत र इलेक्टोरल कलेज पनि ट्रम्पकै पक्षमा परेपछि ट्रम्पले विजय हात परेका हुन् ।

आजको परिणामले तल्लो सदन र माथिल्लो सदन दुवैमा रिपब्लिकन पार्टीको बहुमत हुने पक्का भएको छ।अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमतका लागि आवश्यक ५१ मध्ये ५१ स्थानमा रिपब्लिकन पार्टीले विजय प्राप्त गरिसकेको छ।तल्लो सदन हाउसमा पछिल्लो परिणाम अनुसार आवश्यक २१८ मध्ये रिपब्लिकन पार्टीले दुई सय दुई र डेमोक्रेटिक पार्टीले १७५ प्रतिनिधि प्राप्त गरेको छ।
विजयको घोषणासँगै विश्वका नेताहरुले यतिबेला ट्रम्पलाई बधाई दिने क्रम सुरु भएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेकोमा ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् ।
यस पटकको चुनावमा ईलोन मस्कको साथले ट्रम्पलाई विजयी बनाएको धेरैले आंकलन गरेका छन् । उनको साथका कारण सामाजिक सञ्जालमा ट्रम्पको उपस्थिति बलियो बनेको थियो । साथै, आर्थिक रुपमा पनि १ सय १० मिलियन डलर खर्च गरेका मस्कले यसको ११ सय प्रतिशत फिर्ता समेत पाएका छन् । ट्रम्प विजयी भएसँगै उनको कम्पनीको शेयरमा भारी बृद्धि भएको छ ।