मेलबर्न, अष्ट्रेलिया ।
सामूदायिक तहमा खेल गतिविधिलाई नयाँ आयाम दिने उद्देश्यले तेश्रो एभरेष्ट सकर मिट २०२४ यही अक्टोबर १९ र २० तारिख आयोजना हुने भएको छ । एक विशेष कार्यक्रमका बीच प्रतियोगितामा सहभागी टिमको घोषणा र ट्रफीको अनावरण गरिएको छ । कूल १७ वटा टिमले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् । यिनैमध्ये तीन टिमले सियरा ओपन कप २०२४, एलायन्स वाईज कप २०२४ र सियरा योंग गुन कप २०२४ को उपाधि उचाल्नेछन् ।
तीन उमेर समूहमा फुटबलको प्रतिस्पर्धा आयोजना गरिँदैछ भने फुटबलसँगै दुबै दिन अन्य विविध गतिविधि गरेर यसलाई पारिवारिक मिलनको पर्व कै रुपमा मनाउने तयारी छ । समूदाय समूदायबीच भाइचारा अभिबृद्धि गर्ने, सम्पर्क बढाउने प्रतियोगिताको उद्देश्य रहेको छ । अष्ट्रेलियामा आयोजना गरिने फुटबल प्रतियोगिताहरुमा पुरस्कारको राशीमा प्रतिस्पर्धा भइरहेको बेलामा खेल भावनाको अभिबृद्धि र बहुसांस्कृतिक समाजमा घुलमिल हुने वातावरण निर्माणको उद्देश्यबाट प्रेरित भएर प्रतियोगिता डिजाईन गरिएको ट्रफी अनावरण कार्यक्रममा जानकारी गराइएको थियो ।
सियरा होम्स र एलायन्स ईस्टेट एजेन्टको प्रायोजनमा हुन लागेको प्रतियोगितामा खुलातर्फ हिमालयन फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड सकर क्लब, युनाईटेड फुटबल क्लब मेलबर्न, नर्थपिक फुटबल क्लब, एभरेष्ट युनाईटेड क्लब, रोयल फुटबल क्लब, रोयल वेष्टर्न फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तय भएको छ ।
यस्तै सिनियर समूहतर्फ एभरेष्ट युनाईटेड क्लब, अलामन्दा फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड सकर क्लब, हिमालयन फुटबल क्लब, रोयल वेष्टर्न फुटबल क्लब र ईस्टर्न वारियर्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । उता १० देखि १४ वर्ष उमेर समूहमा एभरेष्ट क्लब, क्रेगीबर्न ब्रिगेड र ईष्टर्न वारियर्सले आफ्ना खेलाडीहरुलाई मैदानमा उतार्दैछ । शनिबार १९ अक्टोबर र २० अक्टोबर आईतबार दुई दिन यी सबै खेलहरु हुनेछन् । प्रतियोगितासँगै बालबालिकाहरुको लागि विविध गतिविधि र पुरस्कारको व्यवस्था, फुड स्टल समेत रहनेछ ।
सन् २०१२ मा स्थापना गरिएको एभरेष्ट युनाईटेड क्लबले आयोजना गरेको प्रतियोगिताको यो तेश्रो संस्करण हो ।
प्रतिक्रिया