काठमाडौंमा बालेनले मार्ने भए त बाजी ? अग्रता कायमै

काठमाडौंमा बालेनले मार्ने भए त बाजी ? अग्रता कायमै


काठमाडौं ।

काठमाडौं महानगरपालिकाको निर्वाचनमा मेयर पदमा रोचक भिडन्त बढेको छ । स्वतन्त्र उम्मेद्वार बालेन साहको अग्रता कायमै रहँदा दोश्रोमा केशव स्थापित र तेश्रोमा सिजंना सिंह देखिएकी छिन् । पछिल्लो मत गणना अनुसार बालेनले ४ सय ३७ मत ल्याउँदा केशव स्थापितले ३ सय ७५ मत ल्याएका छन् । यस्तै सिर्जना सिंहले २ सय ७३ मत ल्याएको देखिएको छ ।

सुरुवातदेखि नै अग्रता लिएका बालेनको पक्षमा नाराबाजी समेत सुरु भएको छ । नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको बताएको बेला काठमाडौंको दुई वडामा सुरु गरिएको गणनामा बालेनको अग्रता आएको हो । यद्यपि काठमाडौंमा यो सुरुवाती गणना हो ।

काठमाडौंलाई नजिकबाट नियालेका विश्लेषकहरुले बालेनको विजय हुन नसक्ने बताइरहेका छन् । उम्म्द्वारहरुको पहिलो रोजाई एमालेका नेता केशव स्थापित र दोश्रोमा सिर्जना सिंह नै रहेको उनीहरुको तर्क छ । यद्यपि सेतोपाटी लगायतका केही मिडियाहरुले भने यस पटक बालेनले चुनाव जित्ने भविष्यवाणी गरेका छन् ।

उनीहरुले गरेको एक्जीट पोलमा सहभागीमध्ये अधिकांशले बालेनलाई भोट दिएको बताएका थिए । बालेनले जितेमा काठमाडौं महानगरमा वैकल्पिक र स्वतन्त्र व्यक्ति पहिलो पटक मेयर पदमा पुग्नेछन् । मुख्यत युवाहरु र कलाकार तथा सेलिब्रेटीहरुको साथ पाएका बालेनलाई फेसबुके मेयर भनेर समेत उडाइएको थियो ।