नेपाली विद्यार्थीका लागि सिड्नीमा खुलेको निशुल्क ‘करिअर हब’ले के गर्छ ?

नेपाली विद्यार्थीका लागि सिड्नीमा खुलेको निशुल्क ‘करिअर हब’ले के गर्छ ?


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीलाई पढाई, जागिर साथै अष्ट्रेलियाको संस्कृति र जिवनशैलीका विभिन्न पक्षमा सहयोग गर्नका लागी ‘करिअर हब’ संचालनमा आएको छ। धेरै नेपाली विद्यार्थीको गन्तव्य बनेको अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थीहरूका लागी साझा मञ्च बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । नेपालीहरूको बाक्लो बसोबास भएको सिड्नीको रकडेलमा खुलेको ‘करिअर हब’मा विद्यार्थी तथा अष्ट्रेलियामा करिअरको खोजी गर्नेहरुलाई सहायता गर्ने लक्ष्य छ ।

सिड्नीका परिचित नेपाली सामुदायिक अभियन्ता मदनमणि अधिकारीको संयोजकत्वमा खुलेको ‘हब’ले विद्यार्थी तथा करिअर विकासको चाहना राख्ने सबैलाई निशुल्क व्यक्तित्व विकासको मंच प्रदान गर्ने जानकारी दिए । ‘करिअर हब’का संयोजक अधिकारीले हबमा विद्यार्थीहरूका लागी व्यवसायिक संजाल (प्रोफेसनल नेटवर्क) बिस्तार, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका अग्रजहरूको सहयोग, निशुल्क ईन्टरनेट, कफी साथै सिकाई स्थल (लर्निंङ स्पेश) उपलब्ध हुने बताए।

अष्ट्रेलियामा नेपाली विद्यार्थीमा एक्लोपन साथै विविध मानसिक तथा अरू समस्याहरू देखिएको सन्दर्भमा यस्तो सामुहिक भेटघाट र करिअर विकासको अवसरले सकारात्मक उर्जा दिने आशा गरिएको उनको भनाई छ । ‘करिअर हब’लाई स्वतन्त्र सिकाईको अवसर प्रदान गर्ने मंच बनाउनका लागि ‘डेन्टेड कोड’ले निशुल्क हल, ईन्टरनेट, किचन लगायतका सुविधा प्रायोजन गरेको अधिकारीले बताए।

‘डेन्टेड कोड’ले लामो समय देखी अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूलाई सिप विकास र आईटीको क्षेत्रमा करिअर बनाउन सहयोग गर्दै आएको छ। ‘डेन्टेड कोड’का संचालक तथा प्रशिक्षक प्रेम आचार्यले आफूले करिअर बनाउनको लागि धेरै दुख पाएकोले अरू नेपाली विद्यार्थीहरूले त्यसखालको दुख भोग्नु नपरोस् भनेर सामुदायिक भलाईको लागी ‘करिअर हब’ बनाउन सक्दो सहयोग गर्ने बताए। उनले ‘करिअर हब’का लागी डेन्टेड कोडले प्रदान गर्ने मेन्टर सहितको सबै सुविधासँग कुनै व्यवसायिक स्वार्थ नरहेको प्रस्ट पारे।

‘यो नितान्त स्वतन्त्र र निशुल्क उपलब्ध हुने अवसर हो, यसमा जोडिन र यसको सेवा लिनका लागी डेन्टेड कोडसँग जोडिनु पर्दैन न त यसको सेवा नै लिनुपर्छ, हामीले सामुदायिक अभियानलाई साथ दिएका मात्र हौं’, उनले भने।