देशभर लगातार घनघोर वर्षा, आज पनि पानी पर्ने अनुमान

देशभर लगातार घनघोर वर्षा, आज पनि पानी पर्ने अनुमान



काठमाडौं । उपत्यका सहित देशका विभिन्न भागमा शुक्रबार विहानदेखि सुरु भएको लगातारको वर्षा रातभर कायम रह्यो । आज शनिबार पनि पानी पर्ने मौसम अनुमान गरिएको छ । देशभरको वर्षाले कति क्षति भयो भन्ने विवरण आइनसके पनि काठमाडौं उपत्यकाका नदीहरुको सतह भरिएर पानी वस्तीभित्र छिरेको अवस्था छ । यस्तै देशका विभिन्न नदी किनाराका बासिन्दाहरु बाढीको त्रासमा बस्न विवश छन् ।
बाढी, पहिरो तथा डुबानको जोखिम शनिबारसम्मै कायम रहेकाले शुक्रबार र शनिबार दुई दिनसम्म रात्रि सेवाका सवारी साधन चलाउन रोक लगाइएको छ । त्यसैले शुक्रबार राजधानी काठमाडौंको नयाँ बसपार्कबाट लामो दुरीका बसहरु चलेनन् ।

शुक्रबार आन्तरिक हवाई उडान पनि ठप्प भएका छन् । अन्तर्राष्ट्रिय उडान र अवतरण ठप्प नभए पनि प्रतिकूल मौसमका कारण केही समय आकाशमा होल्ड हुनुपरेको छ ।

मौसमविदहरुका अनुसार अहिलेको वर्षा शनिबारसम्मै जारी हुने र आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । त्यसैले जोखिम कायमै ठानेर सावधानी जारी राख्नुपर्ने उनीहरुको सुझाव छ ।

दशैंअघि मौसम खुलेर घमाइलो हुनुपर्नेमा यतिबेला झरीले फेरि आक्रान्त बनाएको छ । यसपटक सबैभन्दा बढी वर्षा झापामा भएको छ । झापामा शुक्रबार ३०५ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ । मंगलबारदेखि नै पूर्वी नेपालबाट वर्षा सुरु भएको थियो । वर्षा गराउने प्रणाली थप सक्रिय हुँदै बादल पश्चिमतर्फ सर्दै गएको थियो ।

आज शुक्रबारसम्म आइपुग्दा वर्षा उत्कर्षमा पुगेको छ । शनिबारदेखि पूर्वी भागमा शुक्रबारको तुलनामा कम पानी पर्ने र पश्चिमी भागमा बढी पानी पर्ने पूर्वानुमान छ ।