तस्मानिया, अस्ट्रेलिया।
नेप्लिज फुटबल क्लब तास्मानियाले चाडको अवसर पारेर अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो ‘केविए ग्लोबल एनएफसीटी दशैं कप २०२४ आयोजना गर्ने भएको छ। विजयादशमीको अवसर पारेर गरिने प्रतियोगिता २८ सेप्टेम्बरका दिन तस्मानियाको कोर्लियन बे ओभल, १५ क्विन्स वाक, न्यु टाउनमा हुनेछ।
प्रतियोगिता दुई समूहमा विभाजित गरिएको र समूह एबाट ४ टिम र समूह बीबाट ३ टिम गरि कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले उपाधि चुम्ने म्याच कमिस्नर तथा पब्लिक रिलेसन अफिसर हरि गौतमले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई २५ सय अष्ट्रेलियन डलर नगद पुरस्कारका साथै ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेताले एक हजार अष्ट्रेलियन डलर, ट्रफी र मेडल प्राप्त गर्नेछन्।
यसका साथै, उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, र अनुशासित टिमलाई ट्रफी प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई विशेष रूपमा २०० डलर नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ।
दुईवटा सेमीफाइनल र फाइनल खेलमा ुम्यान अफ द म्याचुलाई पनि ट्रफी प्रदान गरिनेछ। यसले खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्ने आयोजकहरूको विश्वास छ।
प्रतियोगितामा सहभागी हुने दर्शकहरुलाई फुटबल खेलसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। बालबालिकाहरूको खेल, महिला पेनाल्टी शूटआउट, र एनएफसीटी सिनियरसँग कर्पोरेट सोसल टिमको खेल रोमाञ्चक हुने अपेक्षा छ ।
एनएफसीटी क्लबको स्थापना सन् २०१९ मा भएको हो।
यो क्लबले आफ्नो स्थापना कालदेखि नै खेलकुदका गतिविधिहरूमा आफुलाई सक्रिय राख्दै आएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार, प्रतियोगिताले तास्मानियामा रहेका नेपालीहरूको फुटबल खेलप्रतिको उत्साहलाई पुनः एकपटक जागृत गर्ने अपेक्षा छ।
प्रतिक्रिया