एडिलेड, अष्ट्रेलिया ।
२९ करोड रुपैयाँ ठगी गरेको आरोप लागेका एक नेपाली अष्ट्रेलियामा लुकेर बसेको पाइएको छ । नेपालको पर्वत जिल्लामा सञ्चालित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष बालगोपाल श्रेष्ठ अष्ट्रेलियामा फरार रहेको र फिर्ताका लागि पहल थालिएको संस्थाका अध्यक्ष नवीनकुमार पौडेलले जानकारी दिएका छन् । पर्वत जिल्ला अदालतमा सहकारी सम्बन्धी कसुर मुद्दा दायर भएपछि निज कसैलाई जानकारी नदिई अष्ट्रेलियातर्फ लागेका थिए । उनलाई चिन्नेहरु भन्छन् “बालगोपालले पहिलेदेखि नै ठगीको पूरै योजना बनाएको रहेछ । आफ्नो नाममा, श्रीमतीको नाममा, आफन्तहरुको नाममा सहकारी खोलेर ऋण जथाभावी प्रवाह गरी, सबै कुम्ल्याएर योजनाबद्ध रुपमा फरार भएको हो ।”
संस्थाको तर्फबाट यहाँको नेपाली दूतावास, एनआरएन अष्ट्रेलिया, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन लगायतलाई गरिएको पत्राचारमा ५० वर्षका निज श्रेष्ठ एक आफन्तकोमा बस्दै आएको दावी गरिएको छ ।
निजलाई नेपाल प्रहरीले फरार सूचिमा राखेको छ । फरार सूचिमा रहेका उनी कसरी विमानस्थलबाट बाहिरिए भन्ने अनुसन्धानकै विषय भएको छ । निजमाथि कृत्रिम खाता खोली ६ करोड ३५ लाख २९ हजार ४ सय १६, जगेडा कोषको ८ लाख ५५ हजार १ सय २८, बचत खाताबाट हिनामिना गरेको १३ लाख ९३ हजार २ सय ९६, बाह्य ऋण र कृत्रिम सम्पत्ति देखाई गरिएको कृत्रिम खाताबाट ११ करोड ४२ लाख ५५ हजार ६ सय ८२, बचतकर्ताको रकम दुरुपयोग ७० लाख ४९ हजार २ सय ५०, फर्जी खची देखाएर १ करोड ३९ लाख ७८ हजार २४ रुपैयाँ, कर्जा लगानी शीर्षकबाट हिनामिना गरेको ६ करोड १४ लाख २८ हजार १ सय २० गरी करोडौं अपचलन गरेको आरोप छ । संस्थाले कूल २९ करोड ९८ लाख ५० हजार ८ सय १० रुपैयाँ निज श्रेष्ठले हिनामिना गरेको हुनाले प्रतिवादीबाट नै बिगो भराई लिन मागदावीसाथ अदालतमा मुद्दा रहेको छ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा सहकारी कसुरमा खोजी भइरहेका व्यक्ति यहाँ आएको भन्दै पत्राचार भएको बताए । आफुहरुले यस विषयमा नेपालमा रहेको अष्ट्रेलियन दूतावासमा समेत सम्पर्क गर्न सुझाव दिएको उनले जानकारी दिए ।
अष्ट्रेलिया र नेपालबीच सुपुर्दगी सन्धी छैन । तर, नेपालबाट आपराधिक गतिविधिमा संलग्न भएर फरार व्यक्ति यता आएको हो भने सरकारी निकायबाट निजका विरुद्ध यहाँको अध्यागमनमा रिपोर्ट गर्न सकिन्छ । यसमा अध्यागमनले झुठो बोलेको आधारमा भिसा समेत रद्द गर्नसक्ने बताउँछन् अष्ट्रेलियाका कानून व्यवसायी टोनु घोताने । उनका अनुसार भिसा आवेदन दिएका बखत कुनै आपराधिक क्रियाकलापमा संलग्न छ वा छैन, प्रहरीको रेकर्डमा रहने अपराधमा नाम छ कि छैन सोधिएको हुन्छ । यसको गलत जवाफ दिएको आधारमै पनि अध्यागमनले भिसा रद्द गर्न सक्छ ।
प्रतिक्रिया