चलचित्र परानको टिजर सार्वजनिक, प्रदर्शन कार्तिक १४ गतेबाट

चलचित्र परानको टिजर सार्वजनिक, प्रदर्शन कार्तिक १४ गतेबाट



काठमाडौं । चलचित्र ‘परान’को टिजर सार्वजनिक भएको छ । अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्दमा उनकै आवाजमा छ ।

चलचित्रका मुख्य कलाकार शाहको मनोभावनालाई टिजरमा प्रस्तुत गरिएको छ । कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने गरेको अपेक्षा व्यक्त भएको छ ।

छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म त्यसैगरी साथ दिनुपर्ने बताइएको छ ।

जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन ।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।

शाहसँगै टिजरमा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइलीलगायत कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ ।

दीपकप्रसाद आचार्य निर्देशित चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ । आचार्यको यो डेब्यु निर्देशन हो ।

चलचित्रमा व्यवसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको छ । चलचित्र कात्तिक १४ गते रिलिज हुनेछ ।