सिड्नी, अष्ट्रेलिया । नेपाली हिन्दु समाज अष्ट्रेलियाले तीजको दिन अर्थात् आगामी शुक्रबार ६ सेप्टेम्बरमा बरउडमा भव्य तीज महोत्सव गर्ने भएको छ । सकारात्मक उर्जा बोकी समुहमा जुटौं, सिड्नीमा हुने नेपालीहरु कोहि नछुटौं भन्ने नाराका साथ देशभन्दा पर पशुपतिनाथमा हुने तीज मेलाकै झल्को दिने प्रयास गरिएको संस्थाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले जानकारी दिइन् । केविसीखबरसँग कुरा गर्दै उनले वरउड पार्कमा ऐतिहासिक तिज महोत्सव हुनलागेको बताइन् । महोत्सवको मुख्य उद्देश्य ब्रतमा बसेका नेपाली नारीहरुलाई पशुपतिनाथमै गएर पूजा गरेजस्तो महसूस गराउने हाम्रो योजना हो । यसका लागि मूर्ति प्रतिस्पथापन गरी पूजा गर्ने अवसर प्रदान गरिनेछ । पूजाको सामग्री लगायत पनि पार्कमा उपलब्ध गराइने भएको छ । बिहान ८ बजेदेखी राती ८ बजेसम्म विभिन्न सांगीतिक गतिविधि, पूजा आराधना निरन्तर हुने कार्यक्रम संयोजक उषाकिरण बारिया पोखरेलले केविसीखबरलाई जानकारी दिइन् ।
तीज महोत्सव २०२४ मा अष्ट्रेलियामा बसोबास गर्ने विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । मुख्य आकर्षणको रुपमा चर्चित गायिका सिन्धु मल्ल, रुविना अधिकारी, स्वस्तिका ढकाल रहनेछन् । शिव आराधना चल्दै गर्दा दिउसो १ बजेदेखी तिज बिशेष सांस्कृतिक कार्यक्रम पनि सन्चालन हुनेछ। ब्रतको दिन भएकोले कार्यक्रमस्थलमा नेपालका विभिन्न समुदायमा हुने शाकाहारी परिकारहरु, आकर्षक उपहार सहित लक्कि ड्र एवं साँझमा जयकारा सहित फायरवर्क्स आतिशवाजी समेत गर्ने योजना छ ।
श्रद्धालुहरुको सहजताको लागि नेपालबाट आएका गुरु मुकुन्दले भूमिका निर्वाह गर्नुहुने आयोजक संस्थाले जनाएको छ । शिवको पुजाका निमित्त आवश्यक फलफुल, पुष्प, वेलपत्र, दुध, सौभाग्य साथै अन्य पूजा सामाग्रीहरु समेतका लागि स्टलको व्यवस्था गरिएका छ । शिवपूजा विहान ९ बजेपछि सुरु हुन र गौदान, रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती, विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी महोत्सव समापन हुनेछ । दिनभरिनै कार्यक्रममा सहभागिता जनाउनुहुने भक्तजन एवं कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सहयोगी संस्थाका प्रतिनिधिहरुलाई कालाग्नि रुद्र पीठको तर्फबाट कोटिहोमको प्रसाद एवं आयोजकबाट मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहने छ ।
महोत्सवमार्फत नेपालीहरुले सिड्नीमा निर्माण गर्न लागेको मन्दिर सहितको बहुसांस्कृतिक केन्द्र निर्माणमा सबैलाई जुट्न आह्वान समेत गरिने सिड्नीका चर्चित पण्डित प्रकाश ढोडारीले केविसीखबरलाई जानकारी दिए । उनले महोत्सवमा सक्रिय सहभागिताको लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया