ब्रिजबेन, अष्ट्रेलिया ।
अष्ट्रेलियाबाट सञ्चालित सञ्चारसंस्था नेपालट्युबले नेपालका पाँच नवप्रवेशी क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गरेको छ । नेपालका विभिन्न क्षेत्रबाट काठमाडौं आई बालुवाटारमा रहेको क्रिकेट एक्सीलेन्स सेन्टरमा प्रशिक्षण लिइरहेका उनीहरुलाई एकवर्षसम्म लाग्ने सबै शुल्क नेपालट्युबले व्यहोर्ने भएको छ । डायस्पोरा क्रिकेट स्कोलरशिप नाम दिइएको यो सहयोग अन्तर्गत पहिलो चरणमा अछामका सिद्धार्थ साउद, वीरगञ्जकी एली यादव, कैलालीकी एशोदा विष्ट, काठमाडौंका सचिन लेखक, कलैयाका धिरज देउवालाई सहयोग प्रदान गरिएको हो ।
नेपालट्युबले एक विज्ञप्ति जारी गर्दै उदीयमान खेलाडीहरुलाई कुनै झन्झटविना आर्थिक अभाव नहुने किसिमले तालिम अघि बढोस भन्ने सदिक्षाका साथ यो कार्यक्रम ल्याइएको जनाएको छ ।
काठमाडौंमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्रिकेट एशोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले यस किमिको सहयोगले नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन प्राप्त भएको र यसले अन्तर्राष्ट्रिय तहमा खेल्ने खेलाडीहरु उत्पादन गर्ने लक्ष्यमा सहयोग पुग्ने बताए । उनले कार्यक्रमको प्रशंसा गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुले पनि यस्तै सिर्जनात्मक सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
नेपालट्युबका निर्देशक एवं पत्रकार सरल गुरुगले नेपाली क्रिकेट खेलाडीहरुले देशलाई चिनाएको बताउँदै नवआगन्तुकहरुलाई केही आइपरे विश्वभर छरिएका नेपालीहरु साथमा छन् भन्ने अनुभूति दिलाउन कार्यक्रम ल्याएको बताए । सुरुमा पाँच जनाले यस्तो सहयोग प्राप्त गरेपनि भविष्यमा यो संख्या १०० बनाउने उनको भनाई थियो ।
खेलाडीको तर्फबाट बोल्दै एली यादवले आफ्नो क्रिकेट सपना पूरा गर्न यो आर्थिक सहयोगले निकै भर दिने बताइन् । आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगले निकै हौसला दिएको उनको भनाई थियो ।
प्रतिक्रिया