काठमाडौँ ।
सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सामाजिक सञ्जालका सञ्चालकहरुलाई दिइएको सर्तमा मुख्यतः कुनैपनि समस्या पर्दा सिधा सम्पर्क गर्नका लागि फोकल कन्ट्याक्ट पर्सन हुनुपर्ने, सामाजिक विभेद, विद्वेष फैलाउने खालका सामग्रीलाई अनिवार्य रुपमा रोकिनुपर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्नेकुरामा सहयोग प्रदान गर्नुपर्ने लगायत छन् ।
मुख्यतः कुनैपनि कन्टेन्टका विषयमा सरकारी निकायले चासो लागेको बेलामा सम्पर्क व्यक्ति तोक्ने र उक्त व्यक्तिमार्फत नै सामाजिक सञ्जालहरुले जवाफ दिने प्रणाली सरकारले निर्माण गर्न लागेको हो । उदाहरणका लागि, कसैले टिकटकमा फेक एकाउन्ट खोलेर कुनै व्यक्तिको चरित्रहत्यागर्नेगरी सामग्री राखेको छ भने त्यस्तो सामग्री हटाउनका लागि सरकारले निज फोकल पर्सनलाई सम्पर्क गर्नेछ र उसले सरकारी दावीको आधार हेरेर सामग्री निकाल्ने वा राख्ने निर्णय गर्नेछ । अहिलेको अवस्थामा सरकारले सामाजिक सञ्जाललाई खोज्दाखोल्दै त्यस्ता सामग्री भाईरल भइसक्ने र त्यसपछि गरिएका कारवाहीहरु प्रभावकारी हुन नसक्ने देखिएका छन् ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा बिहीबार सञ्चार मन्त्रालयले टिकटक खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो।
प्रतिक्रिया