मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाको लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले पासपोर्ट बनाउन, विभिन्न कागजपत्र प्रमाणित गर्न वाणिज्यदूतलाई अधिकार दिनुपर्ने माग गरेका छन् । उनले अष्ट्रेलिया भ्रमणमा रहेकका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई यसको लागि देशमा पहल गरिदिन पनि अनुरोध गरेका हुन् ।
आईतबार विहान आफ्नो कार्यालयमा स्वागत गर्दै वाणिज्यदूत गौलीले पासपोर्ट बनाउनकै लागि टाढाबाट क्यानबेरासम्म पुग्नुपर्ने बाध्यताले धेरैलाई समस्या भएको बताए । स्वागतपछि समूदायका अगुवाहरुसहितको अन्तरक्रियाको सुरुवातमै वाणिज्यदूत गौलीले यो विषय उठान गरेका थिए । उनले भने, “हामीकहाँ के समस्या देखिएको छ भने भिजा हामीले जारी गर्न पाउछौं । डकुमेन्ट भेरिफिकेशन पहिलेदेखि गर्दै आएको रहेछ । तर, नियमावलीले गर पनि नगर पनि नभनेको अवस्था रहेछ त्यसलाई राजदूतको तजविजमा भर पर्ने गरेका कारण त्यसलाई स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको छ । पासपोर्ट बनाउन क्यानबेरा नै पुग्नुपर्ने बाध्यता छ । पहिलेदेखि नै मैले उठाउँदै आएको विषय हो । भिक्टोरियाबाट नै क्यानबेरा जानपरे २ दिन खर्च गर्नुपर्ने अवस्था छ । हामीलाई डकुमेन्ट कलेक्सन र भेरिफाई गर्ने अधिकार पाए अफिस चलाउन पनि सहयोग हुन्थ्यो ।” (Watch video)
दूतावासले गत अगष्ट १२ गते नयाँ नियुक्त भएका वाणिज्यदूतहरुलाई भिसा बाहेकका अन्य कार्य नगर्न, कागजपत्र प्रमाणित र शुल्क उठाउने कार्य नगर्न स्मरण गराएको थियो ।
राप्रपा अध्यक्ष लिङ्देनले यो विषय जनताको सेवासँग सम्बन्धित भएकोले आफुले यसलाई सम्बन्धित ठाउँमा उठाउने आश्वासन दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारी सेवालाई सहज रुपमा सबैको पहुँचमा लानुपर्नेमा जोड दिएका थिए ।
उक्त असरमा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने, प्रवासी नेपाली मञ्च भिक्टारियाका अध्यक्ष गणेशराज गौतम, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका उपाध्यक्ष गौतम लामिछाने, जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका सभापति दिनेश बन्जारा, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई, एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुक, न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी, लोकराज पौडेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
उपस्थित सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै लिङ्देनले भ्रष्टाचार विरुद्ध राप्रपा अझ बढी सक्रिय भएर लाग्ने बताए । उनले प्रवासी नेपाली एकता समाजलाई सबैले साथ र सहयोग गरिदिन पनि अनुरोध गरेका थिए ।
प्रतिक्रिया