तास्मानियन नेप्लिज प्रिमियर लिगमा ग्रेस डायनामोज सहभागी हुने, को-को छन् खेलाडी ?

तास्मानियन नेप्लिज प्रिमियर लिगमा ग्रेस डायनामोज सहभागी हुने, को-को छन् खेलाडी ?


तास्मानिया, अष्ट्रेलिया ।

तास्मानिया नेप्लिज क्रिकेट एसोसियशनले आयोजना गरेको तास्मानियन नेप्लिज प्रिमियर लिग (टीएनपीएल)मा ग्रेस डायनामोजले सहभागी हुने भएको छ। 

तास्मानियाको होबार्टमा हुने उक्त प्रतियोगिताका लागि ग्रेस इन्टरनेस्नल तस्मानियाले पाँच हजार अष्ट्रेलियन डलर खर्चेर खेलाडी खरिद गरेको छ। टि-२० फर्म्याटमा हुने उक्त प्रतियोगितामा ग्रेस डायनामोजका खेलाडीहरूमध्ये सन्दिप अधिकारी मुख्य आकर्षणको रुपमा हेरिएको छ। टिमको उपकप्तान समेत रहेका अधिकारीलाई ग्रेस डायनामोजले सर्वाधिक एक हजार ६ सय अष्ट्रेलियन डलरमा किनेको छ। ब्याटिङ, बलिङ, फिल्डिङ र खेलको रणनीति बनाउनमा उनी माहिर मानिन्छन्।  

खेमराज पौडेल, सन्दिप अधिकारी, सुनित सुयाल, पारस पौडेल, रिवाज पौडेल, प्रविन घर्तिमगर, सन्दिप पौडेल, सरदराज भण्डारी, उमेश पन्डित, विकास सेढाई, भिपिन केसी, सुजन ढुंगेल, रुपेस पराजुली, साजिन श्रेष्ठ र दिवस पन्त गरी ग्रेस डायनामोजले १५ खेलाडीहरूको टिम बनाएको छ। ग्रेस डायनामोजको कप्तानीको रुपमा खेमराज पौडेल, म्यानेजर राजकिरण अधिकारी र सल्लाहकारमा प्रकाश उप्रेती रहेका छन्।

टीएनपीएलमा अन्य दुई टोलीहरू इन्ट्याक्ट टाइटन्स र भिएक्सएल स्टार्स रहेका छन्। पहिलो पटक गर्न लागेको  तास्मानियन नेप्लिज प्रिमियर लिग सेप्टेम्बरको दोस्रो हप्ताबाट सुरु हुने टिएनसीएका अध्यक्ष कमल भण्डारीले बताएका छन्। 

प्रतियोगितामा उपाधि जित्ने टोलीले ३,५०० अष्ट्रेलियन डलरको नगद पुरस्कार प्राप्त गर्नेछ। व्यक्तिगत पुरस्कारहरूमा गोल्डेन ब्याट र गोल्डेन बल, प्रत्येकको लागि ४०० अष्ट्रेलियन डलर, म्यान अफ द टुर्नामेन्टको लागि ६०० अष्ट्रेलियन डलर, र प्रत्येक खेलको प्लेयर अफ द म्याचले २०० अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

टीएनपीएलको टाइटल स्पोन्सरको रुपमा अजि फाइनान्स एण्ड होम लोन रहेको छ। टिएनसिएले आयोजना गरेको यो प्रिमियर लिगको टाइटल स्पोन्सर बन्ने सुवर्ण अवसर मिलेकोमा आफुलाई गर्वको अनुभूति भएको अजि फाइनान्स एण्ड होम लोनका तास्मानिया निर्देशक रेवन्त बस्नेतले बताएका छन्।