धरान । सामाजिक सञ्जालमा हल्ला गर्ने, आफ्नै निर्णयको बचाउ गर्ने र पार्टी तथा नेताहरुप्रति अनर्गल बोल्दै हिंड्ने धरानका मेयर हर्क साम्पाङ खानेपानीको मूल्य बढाउने आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका छन् ।
मेयर संयोजक रहने खानेपानी बोर्डले साउन १ गतेदेखि लागु हुने गरी खानेपानीसहितका महसुल बढाउने निर्णय गरेपछि स्थानीय युवासँगै उपमेयर अइन्द्रविक्रम बेघासमेत विरोधमा उत्रिएका थिए। यही विरोधमा १० राजनीतिक दल र उपभोक्ता समिति पनि मिसिएपछि मेयर हर्क महशुल फिर्ता गराउन बाध्य भएका हुन् ।
आन्दोलनकारीहरूले खानेपानी बोर्ड मात्र होइन महानगरको कार्यालयमा समेत तालाबन्दी गरेपछि उनी फिर्ता गर्न बाध्य भएको बताईन्छ । आइतबार बेलुका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति भएको हो ।
सहमतिमा खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआउन्जेल पुरानै दर महसुललाई यथावत् राख्ने उल्लेख छ।
दोस्रो बुँदामा बोर्डको पूर्णताबारे उच्च अदालतको फैसलालाई मान्ने उल्लेख छ। अदालतमा मुद्दा विचाराधीन भएकाले उच्च अदालतको फैसला प्राप्त भएपछि सोही अनुसार गर्ने सहमतिमा उल्लेख छ।
तेस्रो बुँदामा सात दिनभित्र खानेपानी बोर्डले आफ्नो हिसाब सार्वजनिक गर्ने उल्लेख गरेपछि आन्दोलनरतपक्ष सहमतिमा आएको हो।
महसुल वृद्धिको निर्णयपछि आन्दोलनमा उत्रिएको पक्षले तीन बुँदे मागसहित खानेपानी बोर्डमा साउन ११ बाट आन्दोलनको घोषणा गरेका थिए। उनीहरूले प्रारम्भमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, प्रशासन शाखा र धरान वडा नम्बर ११, १५ र १६ का बिल काउन्टरमा तालाबन्दी गरेका थिए।
उच्च अदालतबाट ताला खोल्न आदेश आएपछि आन्दोलनरत पक्षले ताल खोलेर उपमहानगरपालिका केन्द्रित आन्दोलन सुरु गरेका थिए।
प्रतिक्रिया