पल शाह प्रकरणः नाबालिकाका बाबुले पनि फेरे बयान ! भने के ?

पल शाह प्रकरणः नाबालिकाका बाबुले पनि फेरे बयान ! भने के ?


काठमाडौं, ६ वैशाख । अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ’छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्दै बयान फेरेको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरले बताए । ‘उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्’, श्रेस्तेदार कुंवरले भने, ‘पहिलाको भन्दा विपरीत बयान दिँदै नाबालिगका बुबाले जबर्जस्ती करणी भएको रहेनछ, मैले बल्ल थापा पाएँ, अरुको उत्साहटमा जाहेरी दिएको भनेका छन् ।’
यस्तै, नाबालिग पीडितले बकपत्रमा बयान फेरेपछि उनका बाबु पनि ’होस्टाइल’ भई बकपत्रका क्रममा जबर्जस्ती करणी नभएको भनेर बयान दिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले बताए । पीडितका बाबुलाई उद्धृत गर्दै उनले भने, ‘मैले केही देखिनँ, व्यहोरा त्यतिबेला मैले सुनेर दिएँ अहिले बुझ्दा होइन कि जस्तो लाग्छ भन्नुभयो ।’
यद्यपि उक्त बयानले मात्रै प्रतिवादी छुट्ने आधार बन्न नसक्ने कानुन व्यवसायीहरू बताउँछन् । यसअघि गत आइतबार पीडित नाबालिगले पनि बयान फेरेकी थिइन् । आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको पीडितको बयान थियो ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै गत फागुन ११ गते उनका बुबाले प्रहरी कार्यालय तनहुँमा शाहबिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएको ५ दिनपछि प्रहरीको सम्पर्कमा आएका शाहलाई अनुसन्धानको लागि तीन पटक जिल्ला अदालतबाट म्याद थप भएको थियो ।
गत चैत १० गते जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । शाहविरुद्ध नाबालिगले गत फागुन १६ गते नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दामा पनि नवलपरासी अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ । अभिनेता शाहलाई बुधबार नवलपुर अदालत लगिने भएको छ । तनहुँ जिल्ला अदलतमा वैशाख १९ गते पेसी रहेको अदालतका श्रेस्तेदार कुंवरले जानकारी दिए।