ब्राजिलमा २००७ पछिको ठूलो विमान दुर्घटनाबाट जोगिएका भाग्यमानीहरु

ब्राजिलमा २००७ पछिको ठूलो विमान दुर्घटनाबाट जोगिएका भाग्यमानीहरु



ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । ती सबैको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्काभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि गइरहेको थियो तर, भिन्हेडो सहर नजिकै दुर्घटना भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको फुटेजमा एटीआर ७२–५०० विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ ।
सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठूलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा विमान दुर्घटना हुँदा १९९ जनाको मृत्यु भएको थियो ।

केही व्यक्तिहरू भने भाग्यवस बाँचेका छन् । विमानको टिकट लिएका केही यात्रुको उडान छुटेको थियो । उनीहरू बाँचेका छन् ।

तिनै मध्येका एक यात्रु एड्रियानो एसिस थिए । उनले भने, ‘विमान कहिले उड्ने भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएन । तर, काउन्टरमा पुग्दा अब विमानमा चढ्न नसक्ने भनियो । विमान चढ्न नपाउँदा मैले त्यहाँ बसेका केही व्यक्तिहरूसँग बहस पनि गरेको थिएँ । तर म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु।’

अर्का यात्रु जोस फेलिप पनि एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग पनि झगडा भएको उनले बताए । तर अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन्। उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान मात्र हौं।’