काठमाडौं, ६ वैशाख । सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ ।
मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको हो ।
आयोगले यस पटक २०७४ मै कार्यान्वयन गरेको नियमावलीको प्रावधानअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति उम्मेदवार हुन नपाउने गरी स्वघोषणाको व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।
प्रतिक्रिया