सिड्नी, अष्ट्रेलिया । नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्टजर्ज नेप्लीज क्लबले जितेको छ । नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको आयोजनामा भएको प्रतियोगिताको २०२४ को संस्करण हात पार्ने क्रममा सेन्टजर्जले सगरमाथा फुटबल क्लबलाई ५-३ गोलको अन्तरले पराजित गरेको हो । फाइनल भिडन्तमा सेन्ट जर्जका रुपक लामाले ह्याट्रीक पुरा गरेका थिए भने सरोज दाहाल र शुसान्त कुवरले एक एक गोल गरेका थिए ।
प्रतियोगितामा फेवा फुटबल क्लब तेश्रो बन्न सफल भयो । फेवाले तेस्रो स्थानको भिडन्तमा टीआरजीलाई ३-२ गोलले हराएको थियो । प्रतियोगिताको सिनियरतर्फको प्रतिस्पर्धामा माछापुच्छ्रेले सेन्ट जर्जलाई ४-१ ले हराउदै उपाधि जित्न सफल भयो । भेट्रानतर्फ माछापुच्छ्रेका छिरिङ डिमडुङले फाइनलमा ह्याट्रीक पुरा गरेका थिए ।
प्रतियोगिताको अन्य उपाधिहरुमा सर्वाधिक गोलकर्तामा सेन्ट जर्जका शुसान्त कुवर, प्लेयर अफ टुर्नामेन्टमा सगरमाथाका सुजन राइ, उत्कृष्ट गोलरक्षकमा मिलन गिरी, फेयर प्ले टिममा होम्बुस राइनो उपाधि हात पार्न सफल भए ।
विजेता टिमका खेलाडीहरुलाई न्यु साउथवेल्सका बाणिज्यदुत सन्जिव शर्मा, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएन आइसीसी सदस्य डील्ली ढकाल, प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोल, संस्थाका अध्यक्ष चिरन तिवारी, सामाजिक अभियन्ता बिष्णु हमाल, एन्फाका अध्यक्ष बिजेन बटाजु लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै बाणिज्युदत सन्जिव शर्माले खेलुकदले समाजलाई जोडनुका साथै अनुशासीत समेत बनाउने हुनाले नेपाली समाजका लागि यो महत्वपुर्ण अवसरका रुपमा रहेको बताए । शर्माले अस्ट्रेलियाका रहेका नेपाली नया पुस्तालाई खेलुकदको माध्यमवाट मुलुकसँग जोडन सके यसले थप उचाइ पुग्ने समेत बताए ।
(क्यानमाण्डूको सहयोगमा केविसीखबर सम्वाददाता)
प्रतिक्रिया