विदेशमी मुद्राको सञ्चिती बढेपछि अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्म सटही सुविधा

विदेशमी मुद्राको सञ्चिती बढेपछि अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्म सटही सुविधा



काठमाडौं । रेमिट्यान्स मार्फत विदेशमी मुद्राको सञ्चिती १५ महिनासम्म धान्ने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाँदा हरेक व्यक्तिले प्रत्येक पटक २५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरेको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति करिब २० खर्ब रुपैयाँ पुगेको छ । यसअघि पनि भारतबाहेक अन्य मुलुकका भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रत्येक पटक अमेरिकी डलर २ हजार ५ सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिने व्यवस्था थियो । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र पाइथ्यो । अहिले त्यो व्यवस्था हटाएर नागरिकले चाहेको बखतमा राहदानीबापत प्रत्येक पटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर विदेशी मुद्रा सटही गर्न पाउने बनाइएको हो ।

‘विदेशी मुद्रामा आयआर्जन गरी विदेशी मुद्रामा खाता भएका नेपाली नागरिकहरू विदेश भ्रमणमा जाँदा आवश्यक कागजात लिई आफ्नो खातामा भएको विदेशी मुद्रा प्रचलित व्यवस्थाबमोजिम उपयोग गर्न चाहेमा विदेशी मुद्रा मौज्दातबाट एक पटक वा पटक पटक गरी वर्षमा बढीमा २५ हजार अमेरिकी डलरसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रामा बैंकिङ उपकरणमार्फत उपयोग गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ ।

सेवा आयातबापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक र क्षेत्रगत रूपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरेको छ । नेपाल सरकारका निकायलाई सार्वजनिक खरिद कानुनबमोजिम गरिएको खरिदको भुक्तानीका लागि आवश्यक पर्ने सटही सुविधामा ड्राफ्टरटीटीको सीमा लागू नहुने एवम् एकभन्दा बढी भुक्तानीको माध्यम प्रयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस वर्ष हरेक महिना विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक थियो । आर्थिक वर्ष ०७९/८० मा सञ्चिति घटेर ११ खर्ब ४६ अर्ब ९९ अर्ब २५ करोड अमेरिकी डलर कायम भएको थियो । लगातार सञ्चितिमा कमी आएपछि सरकारले १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो भने राष्ट्र बैंकले पनि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले देश ‘श्रीलंका बन्ने’ डर फैलाइरहेका थिए । सोही कारण सरकारले आयात घटाउने कसिलो नीति अवलम्बन गरेको थियो । सरकारको उक्त निर्णयले आयातमा कमी आउँदा आर्थिक गतिविधिमा सुस्तता आयो । त्यसयता बढिरहेको विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउँदै आएको छ ।