एलेक्जेन्डर शाहले बनाए एक सय मिटर फ्रिस्टायल पौडीमा राष्ट्रिय कीर्तिमान

एलेक्जेन्डर शाहले बनाए एक सय मिटर फ्रिस्टायल पौडीमा राष्ट्रिय कीर्तिमान



काठमाडौँ । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । राष्ट्रिय कीर्तिमान बनाए पनि एलेक्जेन्डर हिट चरणबाटै बाहिरिएका छन् ।

हिट तीनमा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्नुभएको थियो । उनले समग्रमा ५९औँ स्थानमा रहनुभयो । यस स्पर्धामा ७९ खेलाडीले भाग लिएका थिए । आफ्नै कीर्तिमानमा सुधार गरेका उनको नाममा यसअघि ५२.१७ सेकेन्डको कीर्तिमान थियो ।

उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको विश्व एक्वेटिक्स च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए। । जारी ओलम्पिक्समा नेपाली खेलाडीले बनाएको यो पहिलो राष्ट्रिय कीर्तिमान हो । दोस्रो पटक ओलम्पिक खेलेका एलेक्जेन्डरले यसअघि टोकियो ओलम्पिकमा पनि एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए ।

यससँगै पेरिस ओलम्पिकमा नेपालको पौडी खेल यात्रा सकिएको छ । यसअघि पौडी खेलाडी डुवाना लामा पनि हिट्सबाट नै बाहिरिएका थिए । एलेक्जेन्डर बाहिरिएसँगै ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये ५ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीकी डुवाना लामा पहिलो चरणबाट बाहिरिएका हुन् । अब नेपालबाट म्याराथनमा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ। म्याराथनमा भाग लिन सन्तोषी मङ्गलबार नै पेरिस प्रस्थान गरेकी छिन् ।