क्यानबेरामा नेपाली निर्यातको विषयमा परिचर्चा, अनुसन्धान रिपोर्ट सार्वजनिक !

क्यानबेरामा नेपाली निर्यातको विषयमा परिचर्चा, अनुसन्धान रिपोर्ट सार्वजनिक !



क्यानबेरा, अष्ट्रेलिया ।
नेपाल र अष्ट्रेलियाबीचको व्यापार सम्बन्धी रिपोर्ट सार्वजनिक गरिएको छ । आईतबार नेपाली दूतावास क्यानबेराको आयोजनामा भएको एक कार्यक्रममा अष्ट्रेलियामा नेपालको निर्यात, वर्तमान अवस्था र सम्भावना नामक रिपोर्ट सार्वजनिक गरिएको हो ।

आयात, निर्यातको यो रिपोर्ट अनुसन्धानकर्ताहरु देवेन्द्र गौचन, सीताराम घिमिरे र सुजन न्यौपानेले तयार पारेका हुन् । कार्यक्रममा सीताराम घिमिरेले रिपोर्ट प्रस्तुत गरेका थिए । उपलब्ध भएका तथ्यांकहरुलाई संयोजन गरेर त्यसको विश्लेषण रिपोर्टमा गरिएको छ । रिपोर्टले अष्ट्रेलियाबाट नेपालमा वार्षिक १८ दशमलब ६ अर्बको आयात हुने गरेको तर निर्यात भने मात्र १ दशमलब ६ अर्बको हुने गरेको तथ्य औंल्याएको छ । यसले देखाउँछ यी दुई देशबीच ठूलो व्यापार घाटा छ ।

नेपालबाट अष्ट्रेलिया सामान पठाउँदा वीरगञ्ज नाका हुँदै कलकत्ता र सिंगापुरको बाटो अष्ट्रेलियाको सिड्नीसम्म पुग्नेगरेको रिपोर्टमा छ । यसरी पानीजहाजमार्फत सामान जाँदा कम्तिमा ३० दिन लाग्ने गरेको र यसले कतिपय ताजा कृषिजन्य उत्पादनहरुको निर्यात असम्भव भएको पनि औंल्याइएको छ । रिपोर्टमा उदाहरणको रुपमा नेपालको अदुवालाई अष्ट्रेलियामा निर्यात गर्न सकेमा त्यसले कृषकलाई फाईदा दिने त देखिएको छ तर प्राविधिक कारणहरुले त्यो सम्भव हुन नसकेको देखाएको लेखिएको छ ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले यो सुरुवाती प्रयास भएको बताए । राजदूत पोखरेलको भनाई छ, “यसलाई थप अनुसन्धान गरेर नेपालबाट अष्ट्रेलियामा निर्यात गर्ने सामानहरुको खोजी गर्नु आवश्यक छ । यसलाई हामी अन्य अनुसन्धानमा थप प्रयास गर्दै पूर्णता दिनेछौं ।”

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलले आयात निर्यातको रिपोर्ट सार्वजनिक गर्नु खुशीको कुरा भएको बताएका छन् । उनले जब स्पष्ट तस्वीर बाहिर आउँछ तब नेपालबाट निर्यात बढाउने कुरालाई थप प्रोत्साहन दिनेछ भन्ने विश्वास समेत व्यक्त गरे । दुई देशबीच भएको टीफा सम्झौता अनुसारको पहिलो बैठकमा नै यस विषयमा थप छलफल हुने उनको विश्वास छ ।

उक्त कार्यक्रममा क्यानबेरामा रहेको नेपाली समूदायका अगुवा डा. कृष्ण हमाल, एनआरएन क्यानबेरामा पदाधिकारीहरु तथा सिड्नीबाट नेपाली समूदायका नेतागण पुगेका थिए । कार्यक्रममा सहभागी हुन हालै नियुक्त भएका वाणिज्यदूतहरु सञ्जीव शर्मा र निराजन गौली पनि क्यानबेरा पुगेका थिए । हाल अष्ट्रेलियामा गार्मेन्ट, कार्पेट, पास्ता नुडल्स, हिमालयन स्पाईस, नेपाली वियर, चाउचाउ लगायत तयारी खानाहरु, चिउरा, अचार लगायतका सामग्री पुग्ने गरेको छ । अष्ट्रेलियाबाट भने वाईनदेखि हवाईजहाजका पार्टपूर्जासम्म नेपालमा आयात हुनेगरेको तथ्यांक देखिन्छ । नेपालबाट अष्ट्रेलियामा निर्यात बढाउनका लागि उत्पादन लागत उच्च हुनु, यातायातको अप्ठेरो, सीमित वित्त पहुँच, बजारको विषयमा ज्ञान अभावलगायतलाई चुनौतीको रुपमा रिपोर्टले देखाएको छ ।

पूरै रिपोर्ट पढ्न यहाँ क्लीक गर्नुस्