महिला एशियाकप क्रिकेटमा आज नेपाल र भारतको खेल

महिला एशियाकप क्रिकेटमा आज नेपाल र भारतको खेल



काठमाडौं ।

एसीसी महिला एशिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदैछ । समूह चरणमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो । यसअघि पाकिस्तानसँग ९ विकेटले पराजित बनेको नेपालले त्यसअघिको खेलमा युएईलाई पराजित गरेको थियो । ६ विकेटले पराजित गरेपछि नेपाली प्रशंसकहरु उत्साहित बनेका थिए ।
समूह चरणको खेलमा नेपालको प्रदर्शन युएईभन्दा माथि भारत र पाकिस्तानभन्दा तल रहेको छ । समूह ए मा रहेको भारत चार अंकसहित शीर्ष स्थानमा छ । नेपाल र पाकिस्तान एक हार एक जीतसहित दुई अंक लिएर बसेका छन् । नेपाली महिला एशिया कप टोलीको कप्तानी ईन्दु बर्माले गरेकी छिन् भने पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमति ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट नेपाली टिममा छन् ।
नेपाली समय अनुसार आज साँझ सवा सात बजे खेल हुने छ।