एउटा माईक्रोसफ्टको थर्ड पार्टी सफ्टवेयरले निम्त्याएको विश्वव्यापी संकट

एउटा माईक्रोसफ्टको थर्ड पार्टी सफ्टवेयरले निम्त्याएको विश्वव्यापी संकट


मेलबर्न, अष्ट्रेलिया ।

शुक्रबार अष्ट्रेलियन समय अनुसार मध्यान्हबाट केही कम्प्युटरहरुमा समस्या देखा पर्यो । कम्प्युटरको स्क्रिनमा नीलो देखिने र त्यसपछि न त त्यसलाई रिस्टार्ट गर्न सकिने न त चलाउन नै सकिने । यो समस्याले एकमात्र होइन विस्तारै दशौं लाख कम्प्युटरलाई आफ्नो चपेटामा लियो । हरेक एयरपोर्टहरुमा समस्या देखियो । हरेक डिपार्टमेन्टल स्टोरमा कम्प्युटर बन्द हुन थाले । एक किसिमले साईबर एट्याक नै हो कि भन्ने त्रास बढ्दै गर्दा समस्या सार्वजनिक भएको चार घण्टापछि यसको कारण भने पत्ता लाग्यो । माईक्रोसफ्टको अपरेटिंग सिष्टम भएका कम्प्युटरमा मात्रै यो समस्या देखिएको थियो ।

अझ बढी अनुसन्धान हुँदै गर्दा पत्ता लाग्यो अमेरिकाको एक कम्पनी जसले माईक्रोसफ्टलाई सफ्टवेयर बिक्री गरेको थियो क्राउड क्ट्राईक त्यही कम्पनीको सफ्टवेयरका कारण यो समस्या आएको पत्ता लाग्यो । तर, यसको समाधानमा भने थप अर्को चार घण्टा लाग्यो । कम्पनीले अन्तत साँझ बल्ल एउटा सूचना जारी गर्दै समस्या पहिचान भएको र समाधान गरिसकिएको जनाएको छ । यद्यपि, उसले कतिपय कम्प्युटरमा म्यानुअल रुपमा नै यसको अपेडट गर्नुपर्ने हुनसक्ने पनि जनाएको छ ।

कम्प्युटरमा भएको खराबीले कतिसम्म असर गरेको थियो भने विभिन्न टेलिभिजन च्यानलहरुले आफ्नो स्क्रिनमा ग्राफिक्स बाहेक नै प्रशारण गर्नुपरेको थियो भने टेलिप्रम्प्टर पनि चलेका थिएनन् । विमानस्थलमा यसैका कारण उडान ढिलाई भइरहेका थिए ।
कुनै चलचित्रमा देखाएको जस्तै आतंकको माहोल बनेको थियो । आगामी दिनमा यस किसिमको समस्या आउन नदिन के कदम चाल्ने हो यसबारेमा पनि अहिलेसम्म पनि अन्योल छ ।