महिला एशिया कपमा नेपालको युएईमाथि जीत, समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा

महिला एशिया कपमा नेपालको युएईमाथि जीत, समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा



काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।

श्रीलङ्काको “डांबुला स्टेडिएम”मा भएको खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको हो ।

नेपालको जितमा सम्झना खड्काले ४५ बलमा नटआउट ७२ रन बनाउनुभयो । उहाँले ११ चौकाको मद्दतमा शानदार अर्धशतक बनाएकी थिइन् । उनको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो ।

नेपालका लागि रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोडेकी थिइन् । सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोडेकी थिइन् भने पुजा महतो ७ रनमा नटआउट भईन् ।

यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पारे ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । समूह ‘ए’को नेपालले अब समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।