गैरआवासीय नेपाली संघको अधिवेशन अनिश्चित, परराष्ट्रको दोश्रो पत्रले तनाव

गैरआवासीय नेपाली संघको अधिवेशन अनिश्चित, परराष्ट्रको दोश्रो पत्रले तनाव


काठमाडौं ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर २३ तारिखमा हुन लागेको विश्व सम्मेलन थप अन्योलमा परेको छ । परराष्ट्र मन्त्रालयले एक पत्र पठाई विधान विपरितका क्रियाकलापलाई सच्याउन ताकेता गरेपछि यतिबेला तयारीको अन्तिम चरणमा पुगेको अधिवेशन अनिश्चित बनेको हो । गैरआवासीय नेपाली संघले विश्व सम्मेलन मार्फत नयाँ दुई वर्षका लागि नेतृत्व समेत चयन गर्दछ । तर, यस पटक विश्वका विभिन्न एनसीसीहरुमा सदस्यता वितरणको बेला विद्यार्थीहरुलाई समेत सदस्यता दिएको, चुनावमा धाँधली भएको, विधान विपरित अधिवेशन प्रतिनिधिहरु छनोट गरेको लगायतमा उजुरी परेपछि परराष्ट्रले हस्तक्षेप गरेको हो ।

विधानको अनुसूची ६ ९क० मा ‘प्राथमिकताको सूचिमा रहेका व्यक्तिहरुले (अर्थात ६५ प्रतिशतमा पर्ने योग्य व्यक्तिहरुले) ले राष्ट्रिय समन्वय परिषदको निर्वाचनपूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने प्रष्ट विधानमा व्यवस्था छ । यति हुदाँहुदै मन्त्रलायले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएको कारण विभिन्न देशमा आफ्नै तवरमा छनोट गरिएको थियो । मन्त्रालयले संघको राष्ट्रिय समितिको महाधिवेशन अनिवार्य रुपमा जुलाई १ देखि ३१ तारिखसम्म सम्पन्न हुनुपर्ने र महाधिवेशन प्रतिनिधिहरुको विवरण अगष्ट १५ सम्म सचिवालयमा पठाउनु पर्ने व्यवस्था अनुरुप गर्न संघलाई निर्देशन जारी गरेको छ ।

संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ । पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन भने त्यसको पुनरावलोकन गर्नु भनिएको छ ।

यसअघि अध्यक्ष कुमार पन्तले राजनीतिक आँखाले संस्थालाई नहेर्न आग्रह गर्दै तोकिएको मितिमा नै अधिवेशन हुने बताएका थिए । दोश्रो पत्र पछि अब के गर्ने भन्ने विषयमा बैठक बसी निर्णय हुने भएको छ ।