एनआरएन तास्मानियाले अभिभावक सम्मान तथा वनभोज कार्यक्रम गर्दै

एनआरएन तास्मानियाले अभिभावक सम्मान तथा वनभोज कार्यक्रम गर्दै


तास्मानिया, अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएन) तास्मानियाले अभिभावक सम्मान तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ। जुलाई २० तारिख रिसडोन ब्रोक पार्कमा उक्त कार्यक्रमको गर्न लागेको हो। 

अभिभावकलाई विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन र एक–आर्काबीच चिनजान बढाउने उद्देश्यले अभिभावक वनभोजको आयोजना गरिएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा तास्मानिया संयोजक जगदिश खड्काले जानकारी दिए। 

वनभोज कार्यक्रममा अभिभावकसँगै सहभागी हुने परिवारका सदस्यलाई पनि निःशूल्क गरिएको संयोजक खड्काले बताएका छन्। दुई सय बढीको सहभागिता रहने अनुमान गरिएको पिकनिक कार्यक्रममा अभिभावकको स्वास्थ्य परीक्षण, खानपिन, परिचयात्मक कार्यक्रम र रमाइलोका लागि नाचगानको कार्यक्रम पनि राखिएको संयोजक खड्काको भनाइ छ।

एनआरएन तास्मानियाले नेपालबाट विभिन्न सिलसिलामा आफ्ना छोराछोरी भेट्न आएका आमाबुबाको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै अभिभावक पिकनिक आयोजना गरेको उनले बताए। अभिभावक कार्यक्रमलाई आगामी वर्षहरूमा पनि एनआरएन तास्मानियाले निरन्तरता दिइने संयोजक खड्काको भनाइ छ।  

विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन र एक–आपसमा चिनजान बढाउन आफ्ना अभिभावकलाई सहभागी गराउन संयोजक खड्काले तास्मानियावासी नेपाली समुदायलाई आग्रह गरेका छन्। 

एनआरएन तास्मानियाले अभिभावक सम्मान तथा वनभोज कार्यक्रम लन्चेस्टनमा पनि आयोजना गर्ने संयोजक खड्काले जानकारी दिए।