केकीको सम्मानमा मेलबर्नमा साँझ, केकीभन्दा टोनुलाई ताली !

केकीको सम्मानमा मेलबर्नमा साँझ, केकीभन्दा टोनुलाई ताली !


मेलबर्न, अष्ट्रेलिया ।
केकी अधिकारी नेपाली रजतपटकी नायिका हुन् । उनी पछिल्लो समय बोक्सी चलचित्रका कारण चर्चामा छिन् । सुमधुर स्वरकी धनी समिक्षा अधिकारीको आवाजमा सजिएको बोक्सी गीतले सबैको ध्यान खिच्यो । यसैको चर्चामा चढेर चलचित्रले पनि राम्रो व्यापार गर्न सफल भयो । केकीको यात्रामा सफल चलचित्रको नम्बर यसले बढाउने नै काम गरेको भन्दा फरक पर्दैन । यसैमेसोमा चलचित्र देखाउने अनि आफ्नो बहिनी भेट्ने योजना बनाएर उनी अष्ट्रेलिया आइन् । नेपालमा भने केकीले चलचित्रको निर्देशकलाई बाल नदिएको, सकेसम्म देखाउनै नखोजेको आरोप लागिरहेको बेला उनी अष्ट्रेलिया पनि एक्लै आएकी थिइन् ।

एडिलेडमा चलचित्र प्रदर्शनसहितको कार्यक्रम भएपनि मेलबर्नमा भने उनको जीवनकै पहिलो अविस्मरणीय सम्मान कार्यक्रम आयोजना गरिएको थियो । आयोजक थिए टोनु घोताने । घोतानेले नेपाली चलचित्र क्षेत्रमा एउटा पढेलेखेकी नायिका, निर्मात्री भनेर उनको सम्मानमा कार्यक्रम गरेको बताइरहेका थिए । केकीलाई आफैंले सम्पर्क गरेर कार्यक्रमबारे बताएका टोनु पेशाले वकिल हुन् अनि अष्ट्रेलियामा उनको विभिन्न प्रसंगहरुमा चर्चा हुने गर्दछ । पछिल्लो समय “अष्ट्रेलियाको टोनु दाई” नामक गीत सार्वजनिक गरेका उनले केकी अधिकारी म्याजिकल नाईट नाममा कार्यक्रम आयोजना गरे जसमा स्थानीय कलाकारहरुलाई पनि उल्लेख्य स्थानमात्र होइन आफ्नो सिर्जना प्रस्तुतिका लागि पारिश्रमिक समेत दिइएको थियो ।

कार्यक्रम निर्धारित समयमा सुरु भएन । करिब डेढ घण्टा ढिलो सुरु भएको कार्यक्रममा उपस्थिति भने खचाखच थियो । करिब ३० विजनेस हाउसहरुलाई पार्टनरका रुपमा उभ्याएका टोनुले एक्लो व्यक्तिले गरेको कार्यक्रममा यस किसिमको साथ पाएको भन्दै हौसिएका थिए । तर, पहिलो गाँसमै ढुंगा भनेको जस्तो मंगलबार आयोजना गरिएको कार्यक्रम डेढ घण्टा ढिलो हुनगयो । भएको के थियो भने, केकीले म आफैं आउँछु भनेकी भएपनि अन्तिम समयमा आएर मलाई आउने व्यवस्था मिलाउनुपर्यो भन्दै फोन गरेपछि टोनु अलमलमा परेको देखिन्थे । टोनुले केकीका लागि उबर अर्डर गर्दै कार्यक्रमस्थलमा उपस्थित भइसकेका दर्शकलाई अब ३० मिनेटमा आइपुग्ने सूचना दिन लगाए । आफैं आउने भन्दै आयोजकलाई टारेकी केकीले अन्तिम समयमा उबरमै आउनुपर्ने अवस्था थियो भने सुरुमै त्यही भनेको भए कार्यक्रममा ढिलो हुने थिएन । धेरै कुरा त्यसले व्यवस्थापन गर्ने थियो । तर, नेपाली दर्शकहरुलाई अवमूल्यन गर्ने केकीको बानीले यहाँ समस्या सुरु गरिदियो ।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिमा तालीको गडगडाहट थियो । तर, प्रस्तुतिलाई नै रोकेर खाना सर्भ गर्दा लगभग ३० मिनेट फेरि त्यसले नै लिइदियो । कार्यक्रममा प्रतिभाशाली कलाकारहरु लक्ष्मण सञ्ज्याल, रोजिना तामांग, दिल तामांग, लुनिभा कार्की, रेईसा खड्का, अन्जय पोखरेल लगायतकाको भव्य प्रस्तुति थियो । सुरुमा प्रस्तुति दिएका कलाकारहरुलाई भन्दा अझ धेरै ताली त टोनु घोतानेले आफ्नो म्युजिक भिडियोको पुनः रिलिज गर्दा देखिएको थियो । धेरैले टोनु दाई टोनु दाई भन्दै हौस्याइरहेका देखिन्थे । यस्तो लाग्थ्यो त्यहाँ केकीभन्दा टोनु नै हावी थिए । उनकै वाहवाही भइरहेको थियो ।

समयलाई उचित व्यवस्था गर्न नसक्दा केकी अधिकारीले बासुदेव मरहठ्ठासँग प्रश्नोत्तर गर्ने बेलासम्म मात्र २० जना दर्शक बाँकी थिए । जबकि सुरुवातमा १ सय २० जनाभन्दा बढी दर्शकले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमपछि मिडियासँग विभिन्न बहाना बनाएर भेट्न नखोज्ने केकीले प्राईभेट डिनरमा भने सहभागिता जनाएको पनि खासै पचेको देखिएन ।