लगानी बोर्डबाट जुमखोला जलविद्युत् आयोजना स्वीकृत, ७३ अर्ब लगानी हुने

लगानी बोर्डबाट जुमखोला जलविद्युत् आयोजना स्वीकृत, ७३ अर्ब लगानी हुने


ठूला परियोजनाको संयोजन र व्यवस्थापन गरिरहेको लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवासमा शनिबार बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पुँजी वृद्धि गर्न अनुमति दिएको हो।

लगानी स्वीकृत भएकामा करिब १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना छ। सो आयोजना दोलखा जिल्लामा छ। माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने आयोजना निजी क्षेत्रले प्रवर्द्धन गर्न लागेको हो।

त्यस्तै सङ्खुवासभा जिल्लामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनामा थप ६२ अर्ब २६ करोड रुपैयाँ बराबरको पुँजी वृद्धिको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए। रासस