अष्ट्रेलियामा मे २१ तारिख संघीय निर्वाचन हुने !

अष्ट्रेलियामा मे २१ तारिख संघीय निर्वाचन हुने !


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियामा यस वर्षको मे २१ तारिख संघीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आज नै संसद भंग गर्दै निर्वाचन घोषणा गर्ने विषयमा गभर्नर जनरलसमक्ष सिफारिश गर्दैछन् । यसका लागि उनी यतिबेला क्यानबेरा पुगेका छन् । गभर्नर जनरल सक्षम सिफारिशपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत चुनावको घोषणा गर्ने तयारी छ ।

पछिल्लो समय सरकारका गतिविधिका कारण प्रधानमन्त्री अलोकप्रिय रहेको मत आइरहेका बेलामा यस्तो घोषणा हुन लागेको हो । उनको प्रतिस्पर्धीका रुपमा विपक्षी लेबर पार्टीका तर्फबाट एन्थोनी अल्बानिज प्रधानमन्त्रीको दौडमा सामेल हुनेछन् ।

यसअघि प्रधानमन्त्री स्कट मोरिसनले कुनैपनि सरकार पूर्ण नहुने भन्दै केही कमजोरी रहेको स्वीकार गरेपनि आफुहरुको आर्थिक योजना, भविष्यको तयारी लगायतलाई ध्यान दिएर लिबरल पार्टीलाई नै आगामी नेतृत्व दिन आह्वान गरेका थिए । उनले आर्थिक सुधारको यो चरणमा नेतृत्व परिवर्तन गरेर कुनैपनि चुनौती नलिन समेत मतदाताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले आफ्ना सम्भावित प्रतिस्पर्धीलाई खाली कागज भन्ने संज्ञा दिएका छन् । उनले अल्बानिजसँग कुनैपनि अनुभव नभएका कारण देश हाँक्ने ल्याकत नभएको प्रतिक्रिया दिँदै आफ्नो अभियानले आश्चर्यजनक परिणाम दिने आशा व्यक्त गरेका छन् । संसदमा रहेको १ सय ५१ सिटमध्ये ७६ सिट जसले जित्छ उसले आगामी सरकार बनाउनेछ । हाल लेबर पार्टीको मात्र ६८ सांसद रहेका छन् । यस्तै ग्रिन पार्टीको एक सिट रहेको छ । लेबर पार्टीलाई आगामी चुनाव जित्नका लागि थप ७ सिटको आवश्यकता पर्नेछ ।

चुनावी सर्वेक्षणहरुले लेबर पार्टीले आफ्नो पक्षमा थप १७ सिट कब्जा गर्ने अनुमान गरेका छन् । लिबरल पार्टीलाई हाल कायम रहेको आफ्नो ७६ सिटलाई बचाउने चुनौती छ ।