अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय १८ जना नेपाली अमेरिकी दूतावासका कर्मचारी

अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय १८ जना नेपाली अमेरिकी दूतावासका कर्मचारी


काठमाडौं । अफगानिस्तानबाट कुवेत हुँदै नेपाल आइपुगेका १ सय १८ जना त्यहाँको अमेरिकी दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका नेपालीहरु रहेको खुलेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले विमानस्थलमा राजदूतले यी नेपाली मूलका आफ्ना कर्मचारीहरुलाई स्वागत गर्दै गरेको तस्वीरसहित यस्तो जानकारी दिएको हो । अफगानिस्तानबाट ११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

उनीहरु जजिरा एयरको विमानमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्धार गरेर दोहा पुर्‍याएको थियो । दोहाबाट कुवेत हुँदै उनीहरु काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । अफगानिस्तानबाट आएका नेपालीहरुलाई क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्‍याएर घर फर्काइने बताइएको छ ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले करिब २ सय नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।