देउवा नेतृत्वको सरकारले पायो पूर्णता, यी हुन् मन्त्री

देउवा नेतृत्वको सरकारले पायो पूर्णता, यी हुन् मन्त्री


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको छ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै मन्त्रिपरिषद्लाई पुनर्गठन गरेका देउवाले गठबन्धन दलहरुको सिफारिशमा विभिन्न व्यक्तिहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

नयाँ मन्त्रि मण्डलमा बालकृष्ण खाँणले गृहमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिएका छन् भने ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ । यस्तै पम्फा भुसालले ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय सम्हाल्दैछिन् भने राजेन्द्रप्रसाद श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले निरन्तरता पाउँदा रक्षामा मिलेन्द्र रिजाल आएका छन् । खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेणुकुमारी यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आलेले जिम्मेवारी पाएका छन् । यस्तै दिलेन्द्रप्रसाद बडुले कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला बालबालिका तथा जेष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमा रामसहायप्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराजलाई मन्त्री बनाएका छन् ।

यसअघिका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारीमा सारिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रिमा बोधमाया कुमारी यादवलाई नियुक्त भएका छन् ।