आज पनि अमेरिकी दूतावासमा विदा, के होला सन्दीपको भिसा ?

आज पनि अमेरिकी दूतावासमा विदा, के होला सन्दीपको भिसा ?


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ। अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ। हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ।

आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो। पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन् । तर अहिलेसम्म सरकारले कुटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको छ।

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधिन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन। उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरु प्रिन्ट पनि भइसकेका थिए।

फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिनमात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए। त्यसपछि प्रक्रिया पूरा गरेर अन्र्तवार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो। भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरुले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन्।

यदि सरकारले कुटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउने छन्। तर, अहिलेसम्म कुटनीतिक नोट तयार भने भएको छैन। सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने संकेत दूतावासले गरि सकेको छ। त्यसैले अहिले क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन्।

युवा तथा खेलकुदमन्त्रीलाई भने यसअघि सन्दीसहितको टोलीले भेटेको थियो। त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ। परराष्ट्रका अधिकारीहरुले प्रक्रिया अघि बढाउनु भन्दा पहिला दूतावाससँग समन्वय हुनु पर्ने बताएका छन्। तर, आज सार्वजनिक विदा परेकाले दूतावासले छलफल गर्नका लागि मंगलबारलाई समय तय हुन सक्ने संकेत गरेका छन्। मेमोरियल डे अमेरिकी सेनामा कार्यरतहरुले जीवन आहुति गरेको दिनको रुपमा मनाइन्छ।

मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी दूतावासमा विदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहने छ। यता नेपाल सरकारका सरकारी निकायहरु भने मंगलबार विदा हुँदा त्यसले पनि भिजा प्रकृयामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ।